राष्ट्रिय मानवअधिकार आयोगले स्वतन्त्र र भयरहित वातावरणमा पत्रकारिताको अभ्यास गर्न पाउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।
आयोगका प्रवक्ता मोहना अन्सारीले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै भयरहित र आम नागरिकको सुसूचीत हुन पाउने अधिकारको सम्मान गर्न सरकारसमक्ष आग्रह गरेका हो ।
पत्रकारमाथि धम्की र गिरफ्तारका घटना अझै नरोकिएको भन्दै अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको सम्मान र संरक्षण गर्नु हरेक लोकतान्त्रिक सरकारको दायित्व रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।
लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको अभिव्यक्ति स्वतन्त्रता र यसको पक्षमा कलम चलाउने पत्रकारले विगतदेखि हत्या, बेपत्ता, आक्रमण, धम्कीलगायतबाट पीडित हुँदै आएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘यस्ता घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन आयोगले नसकेको हो ।’ आयोगले सशस्त्र द्वन्द्वको समयमा पत्रकारमाथि भएका हत्या, बेपत्ता, गैरकानूनी थुनालगायतका घटना सम्बन्धमा कारबाहीका लागि सरकारलाई सिफारिश गरेको उल्लेख गर्दै प्रवक्त अन्सारीले घटना अदालती प्रक्रियामा मात्र पुगेको बताए ।
विगत दुई दशकको तथ्यांकलाई हेर्ने हो भने दुई दर्जन बढी पत्रकारको हत्या भएको आयोगले जनाएको छ ।
यसैक्रममा आयोगले ३३ किलो सुन प्रकरणमा पक्राउ परेका प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले आरोपीको तस्वीर लिने ध्रुव भट्टराई र सुमन सुस्केरामाथि लात्ती प्रहार गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।



















