प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाका दुई दलित विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् । विद्यालय भर्ना अभियान २०७५ अन्तर्गत बुधबार सिरहाको कल्याणपुरस्थित रामदुलारी माविमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओली रुपाकुमारी खत्बे र पवन मरिक डुमको अभिभावकत्व ग्रहण गर्दै ती विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत प्रदान गरे ।
सो अवसरमा प्रधानमन्त्री ओलीले दलित विपन्न परिवारका बालबालिका अझैसम्म विद्यालय बाहिर रहेकाले विद्यालयसम्म ल्याउन आफूले अभिभावकत्व ग्रहण गरेको बताए ।
प्रधानमन्त्री ओलीले आफूले भर्ना गराएका विद्यार्थी सफल भएको हेर्न चाहेको बताउँदै भर्ना अभियानअन्तर्गत विद्यालय गएका विद्यार्थीलाई विद्यालयमै टिकाउन सरकारले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
निरक्षरता उन्मूलनमा आ–आफ्नो ठाउँबाट योगदान पु¥याउन सबैमा अपिल गर्दै उहाँले निरक्षरता उन्मूलन गरी नेपाललाई साक्षर मुलुक घोषणा गर्ने लक्ष्य सरकारले लिएको बताए ।
तराईमा क्रियाशील समूहलाई राजनीतिक मूल प्रवाहमा आउन आग्रह गर्दै उनले ‘अब आर्थिक क्रान्तिको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने सरकारको लक्ष्य रहेको छ ।’
सडक पूर्वाधार, खानेपानी र स्वास्थ्यजस्ता अति महत्वपूर्ण योजना सञ्चालन भइसकेको र अब यस्ता कार्यमा ढिलासुस्ती गर्नेलाई सरकारले छुट नदिने पनि उनले बताए ।
सो अवसरमा संघीय शिक्षामन्त्री गिरिराजमणि पोखरेलले दलित छात्र सोनुकुमार खत्बेको अभिभावकत्व ग्रहण गर्दै अब विद्यालय भर्ना भएकै दिन विद्यार्थीले सहजरुपमा पाठ्यपुस्तक प्राप्त गर्ने विश्वास दिलाए । उनले पाठ्यपुस्तक वितरण भइरहेको कमिसनको खेल रोक्न सरकार लागिपरेको उल्लेख गर्दै विद्यालय भर्ना अभियानसँगै अब घरदैलो अभियानसमेत सञ्चालन गर्न लागेको जानकारी दिए ।
प्रदेश नं २ प्रदेश करीव दुई लाख बालबालिका विद्यालय बाहिर रहेको सार्वजनिक भए पनि शिक्षा मन्त्रालयको तथ्याँकअनुसार एक लाख ५३ हजार बालबालिका मात्र विद्यालय बाहिर रहेको दाबी गर्दै उनले भने, ‘बालबालिकालाई विद्यालयसम्म ल्याउन भर्ना अभियान सञ्चालन गरिएको हो ।’
सोहीअवसरमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले अर्का दलित छात्र राहुलकुमार खत्बेलाई विद्यालय भर्ना गराउँदै शिक्षाको पहुँचबाट कोही बञ्चित नहोस् भनेर सरकारले शुरु गरेको भर्ना अभियान सहभागी हुन सबैसँग आग्रह गरे ।
अन्य प्रदेशभन्दा प्रदेश नं २ हरेक दृष्टिकोणबाट पछाडि रहेकाले यो प्रदेशलाई विशेष प्राथमिकता दिएर बजेट उपलब्ध गराउन उनले मागसमेत गरे ।
कल्याणपुर नगरपालिकाका प्रमुख सूर्यनाथ मण्डलको अध्यक्षतामा भएको सो कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले दलित छात्रा मनिषाकुमारी डुमको अभिभावकत्व ग्रहण गरेका छन् ।



















