प्रधानमन्त्री केपी शर्मा ओली भारतको त्रिदिवसीय राजकीय भ्रमणका क्रममा शुक्रबार नयाँदिल्ली पुगेका छन् । उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रि«य विमानस्थलमा भारतीय जनता पार्टीका पूर्वअध्यक्ष तथा केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र अर्थराज्यमन्त्री प्रताप शुक्लाले स्वागत गरेका थिए । राजनाथ सिंह प्रधानमन्त्री नरेन्द्र मोदी पछिका दोस्रो वरियताका मन्त्री हुन् ।
नयाँदिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत भरतकुमार रेग्मी र नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरीलगायतले स्वागत गरेका थिए । प्रधानमन्त्रीको भ्रमण टोलीमा ५४ सदस्यीय प्रतिनिधिमण्डल छन् । प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि यो उनको पहिलो विदेश भ्रमण हो ।

प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको नियमित उडानबाट शुक्रबार बिहान ९ बजे भारत प्रस्थान गरेका थिए । उनलाई बिदाइ गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतम, उपमहासचिव विष्णु पौडेल, पूर्वसभामुख सुवास नेम्वाङ तथा विभिन्न मन्त्रालयका सचिवहरु पुगेका थिए ।
प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सहभागी छन् ।
यस्तै, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय संसद्का सदस्यहरु शरतसिंह भण्डारी, दीनानाथ शर्मा, रामेश्वर राय यादव, मोतिलाल दुगड, गणेशसिंह ठगुन्ना, शान्ता चौधरी, उमा रेग्मी, रामवीर मानन्धर, सीताराम महतो तथा विमलप्रसाद श्रीवास्तव भ्रमणदलमा सहभागी छन् ।
प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा मुख्यसचिव लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शंकरदास बैरागी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल तथा प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्य सहभागी छन् ।
यस्तै, जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासे, अर्थ मन्त्रालयका सहसचिव केवलप्रसाद भण्डारी, रेल विभागका महानिर्देशक अनन्त आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, शिष्टाचार महापाल दीपक अधिकारी, नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा वैद्यनाथ महतो पनि भ्रमण दलमा सहभागी छन् ।
प्रधानमन्त्री ओली भ्रमण अवधिभर हैदराबाद भवनमा रहनेछन् । प्रधानमन्त्री ओलीको उच्चस्तरिय राजनीति भेटघाट भने भोलीबाट हुने हाम्रो संवाददाताले जानकारी दिएका छन् ।




















