राजधानीको भृकुटीमण्डपमा दोहोरी भिडन्त चलिरहेको छ । मंगलबार सुरु भएको ‘चौँथो राष्ट्रिय दोहरी गीत प्रतियोगिता’मा ३५ जिल्लाबाट ४० समूह सहभागी छन् ।
राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठानले आयोजना गरेको सो प्रतियोगिता १७ चैतसम्म जारी रहनेछ ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः एक लाख ५१ हजार १००, एकलाख एक हजार १०० र ५७ हजार ७७७ नगदसहित सम्मानपत्र प्रदान गरिने प्रतिष्ठनका सचिव राधिका हमालले बताइन् ।
प्रतियोगिताको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले विभिन्न जातजाति समुदायका परम्परा, भाषा, संस्कृतिले अन्तर्राष्ट्रिय तहमा मुलुकको गौरव बढाएको बताए ।
कलाकारलाई राष्ट्रको गहना भन्ने गरिएको उल्लेख गर्दै उनले उनीहरुको क्रियाशीलताका आधारमा परिचयपत्र वितरण गरी सामान्य सुविधा उपलब्ध गराउने भूमिका आफूले निर्वाह गर्ने बताए ।
सांसद कोमल ओली, प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर विरही, वरिष्ठ गायक कुमार बस्नेत र नारायण रायमाझीलगायतले देशको समग्र संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताउँदै पछिल्लो समयमा लोक दोहरीको व्यवसायिकता बढदै गएकोमा खुशी व्यक्त गरे ।
प्रतिष्ठनका अध्यक्ष बद्री पंगेनीले केही वर्ष पहिले लोक दोहरी ग्रामीण भेगमा मात्र गाउने गरिएकामा अहिले यसको लोकप्रियताले अन्तर्राष्ट्रिय बजारमा पनि महत्व बढ्दै गएको आफ्नो धारणा सुनाए ।