प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ता अधिकारको संरक्षणमा सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले सरकार नयाँ कानूनको तर्जुमा गरी उपभोक्ता अधिकारलाई थप मजबुत बनाउन तयार रहेको बताए ।
प्रधानमन्त्री ओलीले उपभोक्तालाई पनि आफ्नो अधिकारको संरक्षण र कर्तव्य पालनामा सक्षम तुल्याउन उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिदैं उपभोक्ता अधिकार संरक्षणका लागि सरकारी निकाय, यस क्षेत्रमा क्रियाशील संघसंस्था र सञ्चारकर्मीको महत्वपूर्ण भूमिका अपेक्षित रहेको बताए ।
उपभोक्ता अधिकारसम्बन्धी अन्तर्रा्ष्ट्रिय संस्थाको आह्वानमा मार्च १५ अर्थात् आजको दिनलाई विश्व उपभोक्ता अधिकार दिवसका रुपमा मनाउन लागिएको हो ।
संयुक्त राष्ट्र संघको महासभाले पारित गरेको उपभोक्ता अधिकारसम्बन्धी मार्गनिर्देशनसमेतका आधारमा सरकारले मुलुकका राष्ट्रिय कानूनमा आवश्यक परिमार्जन गर्नुका साथै यस क्षेत्रमा नयाँ कानूनको तर्जुमा गरी उपभोक्ता अधिकारको संरक्षणमा महत्वपूर्ण कार्य गर्दै आएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीले अहिले देशमा उपभोक्ता हितका लागि उपभोक्ता संरक्षण ऐन र विभिन्न क्षेत्रगत कानूनको व्यवस्था गरी तदअनुरुपका योजना तथा कार्यक्रम सञ्चालनमा रहेको समेत उल्लेख गर्नुभएको छ ।
नेपालको संविधानमा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक रहेको रहेको उल्लेख गर्दै उनले गुणस्तरहीन वस्तु वा सेवाबाट क्षति पुगेका व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने मौलिक हकसहितको संवैधानिक व्यवस्था रहेको बताए ।
प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, ‘संविधानमा भएको व्यवस्थाअनुसार सबै उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ ।’
उद्यमी र व्यवसायीले उपभोक्ता अधिकारको संरक्षण, सम्मान र पालना हुने गरी आफ्ना क्रियाकलाप सञ्चालन गर्नुपर्छ, उनले भने, ‘उपभोक्ताले पनि आफ्नो हक अधिकारप्रति सजक भई कानूनले प्रत्याभूत गरेका अधिकारको प्राप्ति, उपभोग र पालनामा थप जागरुप हुनु जरुरी हुन्छ ।’
प्रधानमन्त्री ओलीले उपभोक्ता अधिकारका क्षेत्रमा सक्रिय नियामक निकायले आफ्ना कार्य क्षमताका विकास र विस्तार गरी उपभोक्ता अधिकार संरक्षणका लागि अझ क्रियाशील हुनुपर्ने खाँचो औँल्याए ।
सरकारले यस वर्ष उपभोक्ता दिवसको अवसरमा ‘उपभोक्ता जागरण अभियानमा स्थानीय तहको सक्रियता’ नारा तय गरेको छ ।
प्रधानमन्त्री ओलीले उपभोक्ता अधिकार दिवसको अवसरमा उपभोक्ताको अधिकारलाई सुरक्षित गर्न उद्यमी, व्यवसायी, नियामक निकाय र सरोकार भएका सबैलाई परिणाममुखी ढंगले कार्य सम्पन्न गर्न सफलता मिलोस् भन्ने कामनासमेत गरेका छन् ।
उपभोक्ता ठग्ने व्यवसायीलाई कडा कारवाहीको माग
उपभोक्ता हित संरक्षण मञ्चले वस्तु तथा सेवाको कालोबजारी, एकाधिकार र कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई कडा कारवाहीको माग गरेको छ ।
प्रत्येक वर्ष मार्च १५ का दिन मनाइने विश्व उपभोक्ता अधिकार दिवसका अवसरसरमा मञ्चद्वारा आज माइतीघर मण्डलामा आयोजित कार्यक्रममा उपभोक्तालाई हानि पु¥याउने वस्तुको आपूर्ति गर्ने व्यापारीलाई दण्डित गर्न आग्रह गरिएको हो ।
मञ्चका अध्यक्ष ज्योति बानियाले वस्तु तथा सेवा उत्पादक कम्पनीले उपभोक्ताको हितका लागि गुणस्तरीय उत्पादन गर्नुपर्ने कानूनी प्रावधान भए पनि मुलुकमा सरोकार पक्षले बजारमा अनुगमन तथा नियमन कार्य संवेदनशील नहुँदा दण्डहीनता मौलाएको र आमउपभोक्ता ठगिरहेकामा चिन्ता व्यक्त गरे ।
उनले राष्ट्रिय अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाई व्यापारिक स्वच्छता र अनुशान कायम गरी उपभोक्ताको हित संरक्षण गर्नुपर्नेमा जोड दिए ।
मञ्चले यसवर्ष विभिन्न ५१ जिल्लामा १६१ उपभोक्ता अधिकारसंग सम्बन्धित कार्यक्रम गरी वस्तु तथा सेवाबाट ठगिएका १०७ उपभोक्तालाई उपभोक्ता संरक्षण ऐन बमोजिम गठित जिल्ला क्षतिपूर्ति समिति मार्फत कानूनी सहायता उपलब्ध गराएको छ ।




















