नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आज जन्मदिन । २००८ सालमा तेह्रथुमको तत्कालीन इवा गाविस–२, तीनसल्लेमा ११ फागुनमा जन्मिएका ओलीको यो दोस्रो प्रधानमन्त्रिय सवार हो । तेह्रथुम इवाकै प्रणामी उच्च माध्यमिक विद्यालयबाट पढाइ सुरु गरेका ओलीको बुबाको नाम मोहनप्रसाद ओली र आमाको मधु हुन् । ओलीको परिवार २०२२ सालमा बसाइसराइ गरी झापा झरेका थिए ।
नेपालको संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलो प्रधानमन्त्रीका रुपमा नियुक्त नेकपा एमालेका अध्यक्ष ओली मुलुकमा दोस्रोपटक प्रधानमन्त्रीको कार्यकाल सम्हादैछन् ।
समृद्धि र स्थिरताको नारासहित निर्वाचनमा बहुमत हासिलपछि वामगठबन्धनको समर्थनमा नियुक्त प्रधानमन्त्री ओली झापा विद्रोह हुँदै लामो समय जेलनेल जीवन खेप्दै यहाँसम्म आएका हुन् । उनी दृढ नेता मानिन्छन् ।
नयाँ संविधान निर्माणमा भूमिका निर्वाह गर्दै संविधान जारीपछि पहिलोपटक २०७२ असोज २४ गते प्रधानमन्त्री बनेका उनल े अध्यक्ष बनेपछि २०७३ साउन २० मा राजीनामा दिएका थिए । उनको यसअघिको कार्यकालमा छिमेकी चीनको औपचारिक भ्रमण भई यातायात र पारवहनलगायत द्विपक्षीय महत्वपूर्ण सम्झौता सम्पन्न भएको थियो ।
यसअघि ओली…
झापा विद्रोहकालीन नेता ओलीले लोकतन्त्र, दिगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति अविचलित अडान राख्दै आएका छन् । यसअघि मुलुकको उपप्रधानमन्त्री तथा गृहमन्त्री र परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालिसकेका उनी राष्ट्रिय एकता र राष्ट्रियताका सवालमा निडर तथा खरो देखिँदै आएका छन् ।
पछिल्लो समयमा पार्टीको आन्तरिक एकता सुदृढ बनाउँदै वाम तालमेल जुटाएर बहुमत हासिल गराउन सफल भए ।
विसं २०७१ असार १९–२५ गते सम्पन्न एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पार्टी अध्यक्षमा माधवकुमार नेपालसँगको प्रतिष्पर्धामा अध्यक्ष हुनुभएका उनी २०७० माघ २१ मा भएको पार्टी संसदीय दलको निर्वाचनमा तत्कालीन अध्यक्ष झलनाथ खनाललाई पराजित गरी नेता निर्वाचित भएका थिए ।
संविधानसभाको दोस्रो निर्वाचनमा झापा क्षेत्र नं ७ बाट निर्वा्चित उहाँ विसं २०४८ र २०५१ मा सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित हुनुभएको थियो भने २०५१ मंसिर १४ गते गठित नेपालको पहिलो कम्युनिष्ट सरकारमा गृहमन्त्री बने ।
विसं २०५६ मा सम्पन्न आमनिर्वाचनमा झापा क्षेत्र नं २ र ६ बाट प्रतिनिधिसभामा निर्वा्चित भई पार्टी संसदीय दलको उपनेता हुनुभएका ओली २०६३ जेठमा गठित नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसमेत बने ।
विसं २०७० मङ्सिरमा सम्पन्न संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं ७ बाट उनी संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
विसं २०२७ को झापा विद्रोहमा पार्टी्भित्र हतियारबद्ध संघर्ष वा शान्तिपूर्ण संघर्ष गर्ने भन्ने बहसमा उहाँले शान्तिपूर्ण आन्दोलनको माध्यमबाट नै परिवर्तन गर्न सकिन्छ भन्ने वैचारिक अडान राखे पनि पार्टीको निर्णय मानी सशस्त्र संघर्षमा होमिएका थिए ।
अन्ततः विसं २०४६ को वाम प्रजातान्त्रिक सहकार्यको शान्तिपूर्ण आन्दोलनबाटै प्रजातन्त्रको पुनःस्थापना भयो, त्यसपछि पार्टीले पनि शान्तिपूर्ण रुपान्तरणको बाटो लियो । नेता ओलीले तत्कालीन महासचिव मदन भण्डारीबाट प्रस्तुत तथा एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट पारित ‘जनताको बहुदलीय जनवाद’ को सिद्धान्त र त्यसको कार्यक्रम निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
विसं २०२५ देखि तत्कालीन कम्युनिष्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्य्राक्सन कमिटीमा आबद्ध भई त्यसको नेतृत्व गर्नुभएका उहाँले २०२६ सालमा संगठित सदस्यता पाउनुभयो भने माक्र्सवादी अध्ययन दलमा संगठित भए ।
विसं २०२६ मै तत्कालीन कम्युनिष्ट पार्टीकोे उपसचिवको जिम्मेवारीमा पुग्नुभएका उहाँ २०२७ वैशाखमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी र पूर्वकोशी प्रान्तीय कमिटीसँगको एकीकरण अभियानका अगुवा बने । विसं २०४४ पुस २ गतेदेखि धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा (माले)को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी बहन गर्नुभएका ओली २०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारीमा पुगे ।
विसं २०४७ जेठ १ गते तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष बन्नुभएका ओली २०४९ देखि २०७१ असारसम्म नेकपा एमाले स्थायी कमिटी सदस्य रही पार्टीको प्रभावशाली नेता रहँदै आएका थिए ।
दोस्रोपटक देश हाँक्ने जिम्मेवारी काँधका लिएर समृद्ध नेपालको आकांक्षासहित अगाडि बढिरहेका प्रधानमन्त्री ओलीलाई मार्गदर्शनन्यूज परिवारको तर्फबाट जन्मदिनको हार्दिक मंगलमय शुभकामना ।




















