चर्चित गायिका अञ्जु पन्तले दुवै मृगौलापीडित जलजला परियारलाई नगद ५० हजार सहयोग गर्ने घोषणा गरेकी छन् ।
दुवै मृगौलाले काम गर्न छाडेपछि उपचारत गायिका जलजलालाई आउँदो १४ फेब्रुअरीमा हुने आफ्नो एकल साँझबाट पाएको पारिश्रमिकमध्येबाट ५० हजार उपचार खर्च स्वरुप सहयोग गर्ने अञ्जुले बताइन् । अञ्जुले भनिन्, ‘१४ फेब्रुअरी अर्थात् भ्यालेनटाइन–डेका दिन हुने मेरो एकल साँझबाट पाएको परिश्रमिकमध्येबाट जलजलाई ५० हजार रुपैयाँ जलजलालाई उपचार सहयोग गर्नेछु ।’
नेपाली गायन क्षेत्रकी ‘मेलोडी क्वीन’ अञ्जु ‘भ्यालेनटाइन–डे’ अर्थात २ फागुनमा बागबजारस्थित साया हेल्लो क्याफे गजलबारमा एकल साँझमा प्रस्तुत हुँदैछिन् । केही वर्षयता गायनसँगै पछिल्लो सामाजिक सेवामा समेत सक्रिय अञ्जुको यो दोस्रो एकल साँझ हो । अञ्जुले आफ्नो पहिलो साँझ पनि सामाजिक सेवाकै लागि गरेकी थिइन् ।
त्यस्तै, यसपटकको अञ्जुले आफ्नो एकल साँझबाट पाएको पारिश्रमिकमध्येबाट कटाएर मृगौलापीडित गायिका जलजलालाई सहयोग गर्ने घोषणा गरेर मानवीयता दर्साएकी छन् ।
‘नेपाली तारा’ सिजन–३ की प्रतियोगी जलजलालाई सहयोग गर्न सामाजिक अभियान नै चलाइएको छ । समाजिक सञ्जाल फेसबुकमार्फत चलाइएको ‘गायिका जलजला परियार बचाउ अभियान’मार्फत विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गर्ने क्रम बढेको छ । सुमधुर स्वरकी धनी अर्घाखाचीकी जलजलाको हाल शिक्षण अस्पताल महराजगञ्जमा उपचार भइरहेको छ ।