भारतको सिक्किममा आयोजना हुने सांगीतिक कार्यक्रममा गायिका सुनिता थेगिमको माग बढ्दो छ । पछिल्लो समय संगीतको क्षेत्रमा निकै चर्चामा रहेकी गायिका थेगिमलाई सिक्किमेलीले पनि आफुहरुको रोजाईमा पारेका छन् ।
गायिका सुनिताका लिम्बु सांस्कृतिक गीतहरुले सिक्किमेली समुदायलाई छोएको छ । बिषेशतः सिक्किममा हुने सांस्कृतिक कार्यक्रमको मुख्य आकर्षण नै सुनिता हुन थालेकी छन् ।
डिसेम्बर १७ मा पुर्व सिक्किमको साराम्सा खेतमा आयोजना भएको चासोक तङनाममा सहभागी बनेकी गायिका थेगिम एक महिना नबित्तै फेरी सिक्किम पुगेकी छन् । लिम्बु समुदायको नयाँ बर्ष मानिने कक्फेक्वा तङनामको अवसरमा पश्चिम सिक्किमअन्र्तगत लिङचोममा आयोजना हुने वृहत सास्कृतिक तथा सांगीतिक कार्यक्रममा सहभागी बन्न थेगिम जनवरी १४ तारिख –आज)मा त्यहाँ पुग्ने उनले जानकारी दिएकी हुन् ।
कक्फेक्वा तङनाम उत्सव समिति सिक्किमले आयोजना गरेको उक्त कार्यक्रमा सुनिता प्रमुख गायिकाको रुपमा देखिने छन् । जनवरी १५ मा आयोजना हुने सो कार्यक्रममा थेगिमको साथमा स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने जनाइएको छ । कार्यक्रममा उनले आफ्नो चर्चित गितहरु गाएर दर्शकलाई मनोरञ्जन दिनेछिन् ।
लिङचोम खेल मैदानमा आयोजना हुने सो कार्यक्रममा लिम्बु मौलिक नृत्य, केःलाङ, हाक्पारे साम्लो, ख्याली साम्लो, जातिय खानाको स्टल र सांस्कृतिक महत्व तथा चिनारी बोकेका सामाग्रीहरुको प्रदर्शन राखिने भएको छ ।
दर्जनौ लिम्बु तथा नेपाली गितहरु गाइसकेकि गायिका थेगिमले राजेश पायल राई लगायतका चर्चित गायकहरु संग पनि युगल आवाज पस्किसकेकिछिन् ।