काठमाडौं, २४ पुस । अमेरिकाको क्यालिफोर्नियास्थित सनफ्रान्सिस्को शहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’ मा नेपाली चलचित्र ‘पंचायत’ले विदेशी भाषाको उत्कृष्ट चलचित्र तथा ‘उत्कृष्ट मुख्य अभिनेत्री’ विधामा पुरस्कार प्राप्त गरेको छ । सो चलचित्रकी नायिका नीता ढुंगाना हुन् ।
चलचित्र ‘पंचायत’को प्रिमियर र अन्य बिशेष शोका लागि अभिनेता सरोज खनाल अहिले अमेरिकामा छन् । अमेरिकाको भर्जिनियामा गरिएको प्रिमियरमा चलचित्रले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ ।
चलचित्र हेरेर निस्केका सबैजसो दर्शकले चलचित्र निकै राम्रो बनेको भन्दै खुलेरै प्रसंसा गरेका थिए । चलचित्रको कथाबस्तु र सरोज खनाल र नीता ढुंगानाको अभिनयले तारिफ पाएको छ । ‘पंचायत’मा शिबम् अधिकारीको लेखन तथा निर्देशन रहेको छ । चलचित्रमा सरोज खनाल, निता ढुंगाना, रुपा राना, गीता अधिकारी, गणेश गिरि, जाहन्वी बस्नेत, सुचित्रा उप्रेती, प्रकृति ढुङेल, विशाल पहारी, किरण थापा, अश्विनी कोइराला, राजुबाबु श्रेष्ठलगायतको मुख्य भूमिका छ ।
गणेश गिरिको प्रस्तुती रहेको यस चलचित्रको निर्माण सुशान्त श्रेष्ठ र शंकर सुवेदीले गरेका हुन् । सञ्चारकर्मी रवि अधिकारी फिल्मका कार्यकारी निर्माता हुन् । टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन् । ‘पंचायत’नेपालमा भने चैत्र २ गतेबाट प्रदर्शनमा आउँदैछ ।