डान्स रियालिटी शो ‘झलक दिखला जा’ विजेता तेरिया फौजा मगर शनिबार रिपोर्र्टर्स क्लवमा देखिइन् । शुक्रबार साँझ अबेला भारतबाट काठमाडौं ओर्लेकी तेरियाले आफूलाई अनलाइन भोटिङ गराएर जिताउने नेपालीलाई धन्यवाद पनि दिइन् । कार्यक्रममा बोल्दै तेरियाले भनिन्, ‘मलाई ‘डिआइडी’मा जस्तै ‘झलक दिखला जा’ पनि भोट दिएर जिताउनु भयो । यहाँहरुलाई सबैलाई धन्यवाद दिन चाहन्छु ।’
भारतकै ठूलो मानिएको रियालिटी शो जितेर चर्चामा आएकी तेरियालाई सरकारले समेत सम्मान गर्ने रक्षामन्त्री बालकृष्ण खाँणले बताए । मन्त्री खाँडले भने, ‘तेरिया फौजा मगरलाई शान्तिदुत र राष्ट्रिय प्रतिभाको रुपमा घोषण गर्नको लागि मन्त्रीपरिषदमा कुरा राख्ने छु ।’
टेरिया मगर फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा मन्त्री खाँणले भने, ‘टेरियाले सानै उमेरमा देशको लागि ठुलो योगदान दिएकी छन् । उनको योगदानले नेपाल र नेपालीको शिर उचो बनाएको छ, भावी पुस्ताको लागि अनुकरणीय र वर्तमान स्थितिका वालबालिकाको लागि आर्दशको रुपमा तेरिया अघि आएकी छन् ।’ उनले आवश्यकता पुर्ति गर्न सरकार जहिलेपनि सकारात्मक रहेको र टेरियाको योगदानको उच्च कदर गर्ने बताए ।
टेरिया फाउण्डेशनकी संरक्षक तथा भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रसारण हुने कार्यक्रम ‘झलक दिखला जा’को बिजेता तेरियाले आफ्नो क्षमताले मात्रै बिजेता नबनेको बताइन् । ‘मेरो क्षमता त छँदै थियो, त्यतिले मात्र म सफल बनेकी होइन’, तेरियाले भनिन्, ‘देश तथा बिदेशमा रहेका तमाम नेपालीहरूको भोटिङको अमूल्य सहयोगले म सफल भएकी हुँ ।’ उनले नेपालमा बसेर केही काम गरेर टेरिया नामले चिनिने बताउँदै भनिन्, ‘यदि म बाहिर बसेर सानो प्रगति गरेँ भने पनि नेपालकी तेरियाले यस्तो गरिन भनेर आउँछ, त्यसैले म जहाँ बसेपनि नेपाल र नेपालीहरुको लागि काम गर्नेछु ।’