भनिन्छ, कवि तथा साहित्यकारहरु आफ्नो भावनामा बग्छन् र मर्म लेख्छन् । यो कति सत्य हो, त्यो उनै जानुन् । तर, गीतकार राम रेप्चुङ राईले भने गीतमा प्राय आफ्नै कथाव्याथा उन्छन् । रेप्चुङले दुई सयभन्दा बढी गीत रेकर्डिङ गराइसकेका छन् ।
तीमध्ये दर्जनौ गीतमा उनकै जीवनका आरोह–अवरो पाइन्छ । उनी भन्छन्, ‘जीवनको सुख–दुखले गीतकार बनायो मलाई । त्यसैले म गीतमा आफ्नो मर्म पनि मिसाउने गर्छु ।’ रेप्चुङका सयौं गीतमध्ये ‘जीवन भन्नु चर्खा रहेछ’ पनि एक हो । जसलाई उनी आफ्नो जीवनसँग मेल खाने बताउँछन् । उनको परिभाषामा जीवन ‘जीवन एक परिभाषा अनेक’ हो ।
हुन पनि गीतकार रेप्चुङको जीवनका यस्ता थुपै्र सुख–दुखका उकाली–ओरालीहरु छन् । ०६२ सालदेखि गीतिकारितामा क्रियाशील रेप्चुङको विगत साँच्चीकै कथाझैं लाग्छ । तर, उनको त्यही वास्तविकता हो ।
नेपाली सांगीतिक क्षेत्रमा व्यवसायिक गीतकारका रुपमा स्थापित रेप्चुङले न आमाको मायाको अनुभूति गर्न पाए, न त बाबुको नै अर्थात् उनी सानैमा टुहुरो भए । आफ्नो बाल्यकाल र अहिलेको गीतिकारितालाई सम्झिँदै रेप्चुङ भन्छन्, ‘दुःख पाएरै गीतकार भएँ होला र, अहिले तिनै मेरा दुःखहरु गीतमा उतारेर आत्मसन्तुष्टि लिने गरेको छु ।’
उनी जन्मेको नौ महिनामै आमा अर्कैैसँग हिडिन् । उनी भन्छन्, ‘आमा हिडेपछि बाबा पनि भारततिर भासिए ।’ त्यसपछि नै रेप्चुङको दुःखका दिन सुरु भएका थिए ।
भोजपुरको सिन्दाङमा जन्मिएका रेप्चुङले त्यसपछि खाशै धेरै समय त्यहाँ बिताएनन् । १० वर्षकै उमेरदेखि घर छाडेर उनी पनि हिडे । रेप्चुङ भन्छन्, ‘घर छाडेपछि मोरङको याङ्सिलामा गोठालो बसेँ । गोठाले जीवन कस्तो होला ? भनिरहनै पर्दैन ।’ बाबुले घर छाडेपछि एकपटकमात्र भेट भएको उनले बताए । गीतकार रेप्चुङसँग यस्ता थुपै्र जीवन कथाहरु छन् । उनको भोगाइहरुसँग जीवनमा परिभाषासँग ठ्याक्कै मेल खान्छ जबकि, उनले जीवनलाई ‘जीवन एक परिभाषा अनेक’ भनेका छन् । उनी भन्छन्, ‘हुन त जीवन आफैमा गीत हो । तर, ती गीतका शब्दहरु सार्थक हुनुमा बेग्लै महत्व हुन्छ ।’
अर्को अर्थमा जीवन सिक्काको दुई पाटा पनि हुन् । जसमा सुख र दुःख हुन्छ । यस्तै, एक उदाहरण हुन् गीतकार रेप्चुङ पनि । तर, सबै दुखी, दुखी हुँदैनन् किनकि मिहिनेत र संघर्षले दुःखपछि सुख पाएकाहरु पनि हुन्छन् भन्ने उदाहरण पनि हुन् गीतकार रेप्चुङ ।
गीतकार रेप्चुङको गीतिकारिताको अर्को विशेषता हो, वियोगान्त हो । उनलाई धेरैले यस्तै उपमा भिराउँछन् । यो कुरा धेरथोरै उनी पनि स्वीकार्छन् । भन्छन्, ‘मेरो बारेमा बुझ्नेलाई त्यो नहुन सक्छ । तर, जसले मेरो गीतमात्र सुन्छ, त्यसले यस्तै भन्छ अर्थात् राम रेप्चुङ राई बढीमात्रमा वियोगात्मक गीत लेख्छ ।’ उनले केही यस्ता गीत लेखेका छन्, जसलाई आफ्नो जीवनसँग मेल खाने भन्न रुचाउँछन् । जस्तै, ‘जीवन भन्नु चर्खा रहेछ’, ‘जीवन के हो जिएर हेर’ आदी । जीवन जिउँने खेलमै उनले ६ वर्ष मलेसियामा समेत भाँडा माझेको सुनाए ।