काठमाडौं । रास्वपाका उपसभापति तथा सांसद डोलप्रसाद अर्याल सर्वसम्मत रूपमा प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका छन्।
आज बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्। उनले नवनिर्वाचित सभामुख अर्याललाई सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेका छन् ।
बैठक सुरु भएलगत्तै सभामुख पदमा अर्यालको एकमात्र उम्मेदवारी परेको जानकारी गराउँदै प्रस्तावक रवि लामिछानेलाई बोल्न समय दिइएको थियो। त्यसपछि लामिछानेले अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए।
उक्त प्रस्तावलाई अर्थमन्त्री स्वर्णिम वाग्ले र कानुनमन्त्री सोविता गौतम लगायतले समर्थन गरेका थिए। समर्थनका क्रममा वाग्लेले अर्याललाई सभामुखका लागि योग्य र अनुभवी नेता भएको बताए।
वाग्लेले विगतमा पनि अर्यालले सांसद र मन्त्रीका रूपमा आफ्नो क्षमता प्रमाणित गरिसकेको उल्लेख गर्दै सभामुखको रूपमा निष्पक्ष र जिम्मेवार भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। उनले अर्यालको जीवन मध्यमवर्गीय संघर्षबाट गुज्रिएको उल्लेख गर्दै तटस्थतामा खरो उत्रिने अपेक्षा राखे।
आजको बैठक स्थगित गर्दै अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने तय गरिएको छ।




















