काठमाडौं । पोखरास्थित वाटरफ्रन्ट होटलका सञ्चालक पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा महानगरपालिकाको पछिल्लो कदमप्रति आपत्ति जनाएका छन्।
शाक्यले आइतबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कुनै पूर्वसूचना बिना होटलको पर्खाल भत्काउन नगरपालिका पुगेको बताएका छन्। पर्यटकीय सिजनको समयमा यस्तो कदम चालिनु दुःखद र चिन्ताजनक भएको उनको भनाइ छ।
उनका अनुसार करिब दुई दशकअघि माओवादी द्वन्द्वकालका कठिन परिस्थितिमा पनि स्वदेशमै पर्यटन व्यवसायमा लगानी गर्ने निर्णय गर्दै उनले आफ्ना साझेदार दिवाकर राजकर्निकारसँग मिलेर फेवाताल नजिक ‘बुद्ध लज’ सहितको १७ रोपनी जग्गा खरिद गरी अन्तर्राष्ट्रियस्तरको होटल निर्माण गरेका थिए।
शाक्यले होटल सञ्चालनका लागि आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरेको दाबी गरेका छन्। उनका अनुसार होटलसँग लालपुर्जा, नक्सा पास, पर्यटन विभागको इजाजत, उद्योग विभागको प्रमाणपत्र तथा नेपाल राष्ट्र बैंक बाट आवश्यक स्वीकृति रहेको छ। साथै, नियमित रूपमा कर तिर्दै आएको र कुनै बैंक ऋणसमेत नरहेको उनले स्पष्ट पारेका छन्।
उनले ६५ मिटर मापदण्डको विषयलाई राष्ट्रिय सरोकारसँग जोडिएको भन्दै आफ्नो होटल उक्त मापदण्डभित्रै रहेको दाबी गरेका छन्। उनका अनुसार होटल भवन तीन तल्ले छ र फेवातालबाट आवश्यक दूरी कायम गरिएको छ। त्यस्तै फेवाताल र होटलको बिचमा अरुको जग्गा रहेको पनि उनले उल्लेख गरेका छन् ।
शाक्यले आफूहरूले UN-Habitat सँग समन्वय गरी अत्याधुनिक DEWAT सेफ्टी ट्यांकी बनाइको उल्लेख गर्दै आफूहरू जिम्मेवार र वातावरणप्रति सचेत उद्यमी भएको बताएका छन्।
उनले फेवाताल वरपर हजारौँ बस्ती, उद्योग तथा होटल सञ्चालनमा रहेको उल्लेख गर्दै उचित मुआब्जा र कानुनी प्रक्रिया बिना संरचना भत्काउने कार्य न्यायसंगत हुन नसक्ने तर्क गरेका छन्।
इतिहासमा राणाकालदेखि नै फेवाताल विस्तार हुँदै आएको स्मरण गर्दै उनले संरक्षण नीतिले विकासलाई अवरोध गर्ने नभई सन्तुलन कायम गर्नुपर्नेमा जोड दिएका छन्।




















