काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । शनिबार बिहान भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ परेका उनलाई आइतबार अदालतमा पेश गरिएको हो।
पूर्वप्रधानमन्त्री ओलीलाई भने भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराउने तयारी थालिएको छ । शनिबार साँझ र आज बिहान उनको स्वास्थ्य परीक्षण गर्दा उनलाई अस्पतालमा राख्न चिकित्सकहरुले सुझाव दिएका थिए ।
चिकित्सकहरुको सुझावअनुसार सरकारी वकिल कार्यालयले भिडियो कन्फ्रेसिङका माध्यमबाट उनलाई अदालतमा उपस्थित गराउने तयारी थालेको स्रोतको भनाइ छ ।
ओली प्रधानमन्त्री हुँदाका महान्यायाधिवक्ता रमेश बडालले ओलीलाई अदालत पेस गर्न कठिन हुने देखिएकोले भिडियो वा भर्चुअल माध्यमबाट उपस्थित गराइने जानकारी दिएका छन् ।
ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएकोमा चिकित्सकको सल्लाहअनुसार त्यहीँ भर्ना गरिएको छ। लेखकलाई भने महाराजगञ्जस्थित प्रहरीको दुई नम्बर गणमा राखिएको छ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा तीन प्रहरीसहित ७६ जनाको मृत्यु भएको घटनामा जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री लेखकलाई ज्यान मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो। प्रतिवेदन समेत सार्वजनिक नगरी गैरकानूनी रुपमा ओली र लेखकलाई पक्राउ गरिएको भन्दै सरकारको चौतर्फी रुपमा विरोध भइरहेको छ ।
कार्की आयोगको अपूर्ण प्रतिवेदनलाई आधार मानेर पक्राउ गरिएको र यो राजनीतिक प्रतिशोध भएको राजनीतिक विश्लेषकहरुले बताएका छन् ।




















