काठमाडौं । नेकपा (एमाले)ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरोधमा आइतबार काठमाडौंमा प्रदर्शन सुरु गरेको छ।
एमालेका जनवर्गीय संघसंगठनले माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन्। उनीहरूले ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको आरोप लगाउँदै तत्काल रिहाइको माग गरेका छन्।
प्रदर्शनकारीहरूले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा समेत माग गरेका छन्। साथै अध्यक्ष ओलीलाई बिना शर्त रिहा गर्नुपर्ने माग पनि अघि सारेका छन्।
ओली र लेखकलाई जेनजी आन्दोलनसम्बन्धी छानबिन गर्न गठित आयोगको प्रतिवेदनका आधारमा शनिबार पक्राउ गरिएको थियो। सोही विषयलाई लिएर एमालेले शनिबार पनि राजधानीमा प्रदर्शन गरेको थियो।
यसैबीच एमालेले आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारविरुद्ध ज्ञापनपत्र बुझाएको छ। अध्यक्ष ओली पक्राउ परेपछि एमालेले कानुनी र राजनीतिक दुवै माध्यमबाट संघर्ष गर्ने रणनीति अपनाएको जनाएको छ।
प्रदर्शनका कारण माइतीघर आसपासको सुरक्षा व्यवस्था कडा बनाइएको छ। ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विरोधपत्र बुझाउन गएका नेता–कार्यकर्तामध्ये १० जनालाई मात्र भित्र प्रवेश गर्न अनुमति दिइएको प्रहरीले जनाएको छ।




















