काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा ६ प्रकारका समस्या देखिएको छ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीमा मुटुको धड्कन बढ्ने समस्या देखिएपछि चिकित्सकको निगरानीमा राखिएको अस्पतालले जनाएको छ। शनिबार पक्राउपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएका उनलाई ‘एनेक्स–१’ को बेड नम्बर ५०१ मा राखेर उपचार भइरहेको छ।
अस्पतालका प्रवक्ता डा. गोपाल सेडाइका अनुसार शनिबार रातिदेखि मुटुको धड्कन असामान्य रूपमा बढेकाले २४ घण्टा निगरानी आवश्यक परेको हो। साथै, ओलीमा पिसाबसम्बन्धी समस्या पनि देखिएको छ, जसलाई मिर्गौला प्रत्यारोपणको इतिहाससँग जोडेर चिकित्सकहरूले विशेष ध्यान दिएका छन्।
अस्पतालका अनुसार ओलीमा मधुमेह, थाइराइड हर्मोनको कमी, उच्च रक्तचाप जस्ता दीर्घरोगसमेत देखिएका छन्। परीक्षणका क्रममा पित्तथैलीमा पत्थरी भेटिएको र त्यसको अवस्था बढ्दो रहेको पनि जनाइएको छ।
रगत परीक्षण, भिडियो एक्स–रे लगायतका जाँचपछि यी समस्या पुष्टि भएका हुन्। पित्तथैलीको पत्थरीबारे थप उपचार कसरी अघि बढाउने भन्ने विषयमा चिकित्सकहरूबीच परामर्श भइरहेको अस्पतालले जनाएको छ।
ओली यसअघि दुई पटकसम्म मिर्गौला प्रत्यारोपण गराएका बिरामी हुन्।





















