काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने निश्चित भएका हर्क साम्पाङले जनताले दिएको जनादेश सबैले स्वीकार गर्नुपर्ने बताएका छन्।
साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको नेतृत्व रवि लामिछानेले गर्दा राम्रो हुने बताएका हुन्।
उनले जनताले प्रतिनिधि चुनेपछि त्यसलाई सबै राजनीतिक दल र नेताहरूले सम्मान गर्नुपर्ने उल्लेख गरेका छन्। साथै संसद्मा जनताका प्रश्न उठ्दा स्पष्ट रूपमा उत्तर दिन सक्ने नेतृत्व आवश्यक रहेको उनको भनाइ छ।
“जनताले चुनिहालेपछि अब सबैले स्वीकार्नै पर्छ,” उनले लेखेका छन्, “सरकारको नेतृत्व रविले गर्दा राम्रो हुन्छ। सदनमा जनताका प्रश्न सोध्दा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ, नत्र बबाल हुनेछ।”
साम्पाङले जनप्रतिनिधि नबोल्ने वा प्रश्नको जवाफ दिन नसक्ने भए समस्या झन् बढ्ने बताउँदै बालेन्द्र साह (बालेन) प्रधानमन्त्री हुन लायक नभएको टिप्पणी गरेका छन् । “नबोल्ने मान्छेले विस्तारमा उत्तर दिन सक्दैन,” उनले लेखेका छन् ।
स्मरण रहोस्, अदालतमा विचाराधिन मुद्दा (सम्पत्ति शुद्धिकरण) को किनारा नलागेसम्म रवि प्रधानमन्त्री त के सांसदको सपथ पनि लिन नपाउने कानूनविदहरुले बताएका छन् ।




















