काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएसँगै नव–निर्वाचित सांसदहरूको पहिलो बैठक सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवनमै बस्ने गरी तयारी थालिएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचन आयोगमा आज आयोजित समीक्षा बैठकपछि संसद्को पहिलो बैठक नयाँ भवनमै बोलाउने गरी तयारी भइरहेको जानकारी दिएका छन् । उनका अनुसार संसदीय मामिला मन्त्रालयले बैठक आह्वानका लागि आवश्यक न्यूनतम् व्यवस्थापन मिलाउने काम गरिरहेको छ।
मन्त्री सिन्हाले विषम परिस्थितिका बीच सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गराउन सकेको पनि बताए। सुरक्षा निकायबीचको प्रभावकारी समन्वय र सरकारले समयमै स्रोत–साधन उपलब्ध गराएकाले निर्वाचन सहज रूपमा सम्पन्न भएको उनको भनाइ थियो।
उनले मतदानअघि सुरक्षा निकायलाई स्वार्थअनुकूल परिचालन नगर्दा सकारात्मक परिणाम निस्कने कुरा यस निर्वाचनले देखाएको पनि उल्लेख गरे । निर्वाचनबाट राम्रो राजनीतिक संस्कृतिको सुरुवात भएको भन्दै उनले अब बन्ने सरकारले बदलाको भावनाभन्दा माथि उठेर जनतालाई सहज सेवा र आर्थिक समृद्धिका लागि काम गर्नुपर्ने सुझाव दिए।
मन्त्री सिन्हाका अनुसार भोलिदेखि नै संसद्को अधिवेशन तयारीका लागि थप काम अघि बढाइनेछ।
समीक्षा बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू डा. जानकीकुमारी तुलाधर र सगुनशम्शेर राणा, आयोगका सचिव कृष्णबहादुर राउत, सुरक्षा निकायका प्रमुख तथा उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।
नयाँ संसद् भवन
नयाँ संसद् भवन क्षेत्रको मध्य भागमा भीभीआईपीका लागि प्रवेशद्वार छ । त्यसकै छेउमा कर्मचारी तथा अन्यका लागि प्रवेशद्वार छ । मुख्य गेटबाट प्रवेश गर्ने बित्तिकै प्लाजामा पुगिन्छ । त्यसको एका पट्टी संसद् सचिवालय छ, अर्कोपट्टि प्रतिनिधिसभाको हल छ । सचिवालय र प्रतिनिधिसभाको पछिल्लो भागमा एका पट्टी संसदीय दलको कार्यालय र अर्कोपट्टि राष्ट्रिय सभा छ ।
७०० सिट क्षमताको प्रतिनिधिसभा बैठक कक्ष छ । सभा हल ४०० र बाल्कोनीमा ३०० क्षमता छ । राष्ट्रिय सभाको बाल्कोनीमा २९० सिट क्षमता छ । ३५० सिट अट्ने संयुक्त लबी छ ।
साना-ठुला गरी १० वटा राजनीतिक दलका लागि संसदीय दलको कार्यालय र बैठक कक्ष बनाइएको छ । प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, दलका प्रमुख सचेतक लगायतलाई अति विशिष्ट कक्ष तयार गरिएको छ । हरेक कार्यकक्षमा २५ सिटको बैठक हलको व्यवस्था गरिएको छ ।
संघीय संसद् परिसरमा पुस्तकालय र क्यान्टिन हुनेछ । नयाँ संसद् भवन क्षेत्रभित्र बगैँचा र सानो चौर रहनेछ ।
प्रेस र छपाइ भवनसहित ७०० वटा सवारी साधन पार्किङ गर्न मिल्ने पूर्वाधारसहित सुरक्षाकर्मीका भवनहरू बनेका छन् । संसद् परिसरमा पानीको फोहोरासहित हरियाली खुला क्षेत्र हुनेछ ।




















