काठमाडौं । आज ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । महिला अधिकार तथा लैंगिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइँदै आएको छ ।
यस वर्ष संयुक्त राष्ट्रसंघले तय गरेको सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ ।
विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैंगिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ । यस्तै, महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्ने लगायतका उद्देश्य पनि यस दिवसको रहेको छ ।
नेपालको संविधानले कुनै पनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ । यस्तै, महिलाको मौलिक हकको रूपमा स्थापित गरेको छ । समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक जीवनमा अर्थपूर्ण रूपमा महिलाको सहभागिता बढ्दै गएको छ ।
संघीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६ दशमलव पाँच र स्थानीय तहमा ४१ दशमलव एक प्रतिशत महिला जनप्रतिनिधि छन् । यसैगरी, निजामती सेवामा अहिले करिब २८ प्रतिशत महिला कर्मचारीको उपस्थिति छ । समाजमा रहेका खराब अभ्यास एवं प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्ने यस्ता प्रथालाई अन्त्य गर्न सबैको सार्थक पहल जरुरी रहन्छ ।
शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण एवं निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समान रूपमा सुनिश्चित गर्नका लागि अझै मेहनत आवश्यक छ ।
सन् १९७५ देखि संयुक्त राष्ट्रसंघले नारी दिवस मनाउन थालेको हो । पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो । सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महिलाले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए । सोही प्रदर्शनपछि संसारभर नै महिला अधिकारको बारेमा चर्चा हुने थालेको बताइन्छ । महिला हक र अधिकारको माग सारेर महिलालले नै संघर्ष सुरु गरेको दिनको स्मरणमा यो दिवस मनाइन्छ ।
यसैबीच, दिवसकै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश जारी गर्दै संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्तले राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् । लैंगिक समानता र महिला सशक्तिकरणको लक्ष्य हासिल गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण, निर्णय प्रक्रिया तथा राजनीतिलगायत राज्यका हरेक क्षेत्रमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने आवश्यकता उनले विज्ञप्तिमा भनेका छन् ।
त्यसैगरी परम्पराका नाममा समाजमा रहेका खराब अभ्यास तथा प्रथाका कारण किशोरी र बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटनालाई निर्मूल गर्न थप प्रभावकारी तथा सिर्जनात्मक कार्यक्रम आवश्यक रहेको उल्लेख गरिएको छ । जनसंख्याको आधा हिस्सा ओगटेका महिलाहरू सशक्त भएमा परिवार, समाज र राष्ट्र नै समृद्धिको मार्गमा अघि बढ्ने भएकाले यसतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।




















