काठमाडौँ । काठमाडौँका दुई फरक स्थानमा गाडीमा आगजनी गरिएको घटना सार्वजनिक भएको छ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार सुकेधारा र नैकाप क्षेत्रमा गाडीमा आगो लगाइएको हो।
उनका अनुसार सुकेधारामा बा ७ च १४०१ नम्बरको मारुती भ्यान र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी गरिएको पाइएको छ। आगजनी आज बिहान करिब ३ बजे आसपास भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
तर हालसम्म कुनै पनि सवारीधनी प्रहरीको सम्पर्कमा नआएको एसपी भट्टराईले जानकारी दिए।
उनका अनुसार घटनास्थलमा दुर्गा प्रसाईं समूहको पर्चा फेला परेको छ। “हामी घटनाबारे विस्तृत अनुसन्धान गरिरहेका छौँ,” उनले भने।
प्रसाईं निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोपमा गत आइतबारदेखि भक्तपुर प्रहरीको हिरासतमा रहेका छन्। उनलाई फागुन २२ गतेसम्म हिरासतमा राखिने प्रहरी स्रोतले जनाएको छ।




















