काठमाडौं । सुर्खेतको छिन्चुमा शंकास्पद वस्तु फेला परेपछि सुरक्षाकर्मीले क्षेत्र सुरक्षित घेरामा राखेका छन्। भेरीगंगा नगरपालिका–१० राताचौरस्थित छिन्चु–जाजरकोट सडकखण्डमा मंगलबार बिहान सडकछेउ रातो प्लास्टिकले बेरिएको प्रेसर कुकर भेटिएको हो, जसमा ‘खतरा’ लेखिएको थियो।
स्थानीयले सूचना दिएपछि नेपाल प्रहरीको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक प्रकाश के.सीले जानकारी दिए। उनका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै सडक आसपास आवतजावत रोकिएको छ। शंकास्पद वस्तुको प्रकृति पहिचान गर्न नेपाली सेनासँग समन्वय भइरहेको छ र सेनाको बम डिस्पोजल टोलीले जाँच तथा निष्क्रिय पार्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।
यसैबीच, कञ्चनपुरको पूर्व–पश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका–२ वाणी क्षेत्रमा दुईवटा शंकास्पद झोला फेला परेका छन्। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार झोलाभित्रको सामग्री के हो भन्ने अझै खुल्न सकेको छैन। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी हेमबहादुर शाहीसहित सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ। राजमार्गमा झोला राखेको बताउने एक शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ र वस्तुको जाँच भइरहेको छ।
यसअघि, सोमबार राति मोरङको विराटनगर महानगरपालिका–७ डाँफे चोकमा कालो प्लास्टिकको झोला देखिएपछि बमको आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको थियो। सीसी क्यामेरा फुटेजमा स्कुटरमा आएका व्यक्तिले झोला राखेर गएको देखिएपछि नेपाल प्रहरीले क्षेत्र सिल गरी नेपाली सेनालाई खबर गरेको थियो। सूर्यदल गणबाट खटिएको सेनाको बम डिस्पोजल टोली र प्रहरीको संयुक्त टोलीले रातभर निगरानी राखेका थिए।
मंगलबार बिहान झोला खोलेर जाँच गर्दा त्यसमा विस्फोटक पदार्थ नभई माटोको हाँडी, खरानी र पूजाका सामग्री मात्र फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कवित कटुवालले निर्वाचनको समय संवेदनशील भएकाले उच्च सतर्कता अपनाइएको बताए। विस्फोटक नभेटिए पनि सार्वजनिक स्थलमा त्रास फैलाउने गरी वस्तु राख्ने व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।




















