काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिका–१० राताचौरस्थित छिन्चु–जाजरकोट सडकखण्डमा फेला परेको शंकास्पद वस्तु डिस्पोज गर्दा प्रेसर कुकरभित्र गोबर र माटो राखिएको भेटिएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सडकछेउको नालामा रातो प्लास्टिकले बेरिएको प्रेसर कुकर र नजिकै ‘खतरा’ लेखिएको रातो प्लास्टिकको पोका देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै नेपाली सेनाको टोलीले उक्त वस्तु सुरक्षित रूपमा डिस्पोज गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार डिस्पोज गर्दा प्रेसर कुकरभित्र गोबर र माटो मात्र भेटिएको हो। निर्वाचनको समयलाई लक्षित गरी त्रास फैलाउने उद्देश्यले उक्त वस्तु राखिएको हुनसक्ने आशंका गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
यसैबीच, कञ्चनपुरको पूर्व–पश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका–२ वाणी क्षेत्रमा फेला परेका दुईवटा शंकास्पद झोलाभित्र लत्ताकपडा र पेयपदार्थलगायत सामान मात्र भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी हेमबहादुर शाहीका अनुसार जाँचका क्रममा झोलाभित्र जुत्ता, टिसर्ट र पेयपदार्थ भेटिएका हुन्।
शंकास्पद वस्तु फेला परेको सूचनापछि सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको थियो। राजमार्गमा आफूले झोला राखेको बताउने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले कतैबाट झोला उठाएर सडकमा राखेको बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















