काठमाडौं । अमेरिकाले मध्यपूर्वका विभिन्न देशमा रहेका आफ्ना नागरिकलाई सक्दो चाँडो सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले सम्भावित आक्रमणको जोखिम बढेकाले मध्यपूर्वका देशहरू छोड्न आफ्ना नागरिकलाई चेतावनी दिएको हो।
सूचनाअनुसार बहराइन, मिस्र, इरान, इराक, इजरायल, वेस्ट बैंक, गाजा, जोर्डन, कुवेत, लेबनान, ओमन, कतार, साउदी अरब, सीरिया, संयुक्त अरब इमिरेट्स र यमनमा रहेका अमेरिकी नागरिकलाई विशेष सतर्कता अपनाउन भनिएको छ।
इरानले मध्यपूर्वका देशहरूमा रहेका अमेरिकी सैन्य बेसहरूलाई लक्ष्य बनाउँदै आक्रमण गरिरहेका बेला अमेरिकी विदेश मन्त्रालयको पछिल्लो वक्तव्य आएको हो।
इजरायल र अमेरिकाले शनिबारदेखि इरानमाथि आक्रमण सुरु गरेका थिए। ती आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको जनाइएको छ। त्यसपछि इरानले पनि इजरायल तथा अमेरिकाका सैन्य बेस रहेका खाडी मुलुकहरूलाई लक्षित गरी आक्रमण जारी राखेको बताइएको छ।
यसैबीच साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार दूतावास भवनमा दुईवटा ड्रोनबाट आक्रमण गरिएको हो।




















