काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु भएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार मृतक सुनसरीको इनरुवा नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्दै आएका ४८ वर्षीय बद्रि कोइराला हुन्। उनी नायब सुब्बा पदमा कार्यरत कर्मचारी रहेको पुष्टि भएको छ।
प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी स्कुटरमा सवार कोइरालालाई आज बिहान करिब ८:४५ बजे बा. २ क ३२२९ नम्बरको फोहोर बोक्ने टिपरले नयाँबानेश्वरस्थित सिभिल अस्पताल अगाडि ठक्कर दिएको थियो।
गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि सिभिल अस्पताल पुर्याइएको भए पनि बिहान ८:५५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न टिपर चालक गोर्खाको भूमिचोक स्थायी घर भई हाल काठमाडौंको पेप्सीकोला बस्ने २६ वर्षीय विकाश थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















