काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ध्वनि प्रदूषण हुनेगरी घण्टी बजाउँदै निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाएका छन्।
प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल मार्फत रास्वपाले सार्वजनिक स्थानमा जताततै घण्टी बजाएर ध्वनि प्रदूषण गराएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्। साथै, राजा वीरेन्द्रको शालिकमाथि चढ्ने, अर्को पार्टीको झण्डा जलाउने जस्ता गतिविधि गरिएकोप्रति पनि आपत्ति जनाएका छन्।
उनले भनेका छन् , “निर्वाचन आचारसंहिताको पालना गराउने सवालमा गम्भीर हुन निर्वाचन आयोगको ध्यानाकर्षण गराउँछौं। घण्टी चिन्ह भएको दलले ध्वनि प्रदूषण हुने गरी देशव्यापी रूपमा आचारसंहिता उल्लंघन गरिरहँदा आयोगले नदेखेजस्तो र नसुनेजस्तो गर्नु विडम्बनापूर्ण छ।”
उनले उदाहरण दिँदै भनेका छन्, “यदि खुकुरी चिन्ह भएको दलले खुकुरी नचाउँदै हिँड्ने वा डोजर चिन्ह भएको दलले सडक तथा राजमार्ग अवरुद्ध हुने गरी डोजर चलाउँदै हिँड्ने अवस्था आयो भने के त्यो पनि निर्वाचन आयोगका लागि स्वीकार्य हुन्छ ?”
प्रवक्ता श्रेष्ठले रास्वपाबाट भएका पछिल्ला गतिविधि—दुव्र्यवहार, झण्डा जलाउने र शालिकमाथि चढ्ने कार्यप्रति सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग पनि गरेका छन्।




















