पूर्वप्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले २०७३ असार २७ गते प्रमुख निर्वाचन आयुक्त पदको कार्यभार सम्हालेका थिए। उनले २०६३ पुस २७ गतेदेखि २०६९ पुस २६ गतेसम्म निर्वाचन आयुक्त र २०६९ चैत १ देखि निर्वाचन आयुक्तको कार्यभार पूरा गरे। पुनर्नियुक्ति भई २०७२ भदौ ११ देखि कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हाले। प्रस्तुत छ, पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादवसँग आसन्न निर्वाचनका विभिन्न पक्षमा केन्द्रित रही गरिएको कुराकानी:
यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई यहाँले कसरी हेर्नु भएको छ?
यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन नेपालको सङ्घीय लोकतान्त्रिकको इतिहासमा पहिलोचोटी निर्वाचन हुन गइरहेको छ। यो निर्वाचन गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको उपजको रुपमा हुन गइरहेको छ। यो निर्वाचन लोकतन्त्रलाई बलियो र सुदृढीकरण गर्न तथा संस्थागत गर्नका लागि सहयोग नै पुग्दछ भन्ने मैले ठानेको छु। जेनजी आन्दोलनपछि विघटन भएको प्रतिनिधि सभाको निर्वाचन नयाँ जनआदेशबाट लोकतान्त्रिक मूल्य मान्यता र सामाजिक परिवर्तनका लागि महत्त्वपूर्ण मान्न सकिन्छ। यसले देशले खोजेको परिर्वतनको आवश्यकता र अपेक्षा पूरा गर्ला भन्ने आशा गरौँ।
खासगरी यस्ता निर्वाचनमा के–कस्ता कुरालाई बढी चासोका साथ हेरिन्छ?
यो निर्वाचन प्रतिनिधिसभाको निर्वाचनमा यसमा मिश्रित निर्वाचन प्रणाली छ। यसमा समानुपातिक र प्रत्यक्षतर्फको निर्वाचन हुन गइरहेको छ। यसमा हेर्ने दृष्टिकोण फरकफरक देखिन्छ तर मूल रूपमा यो निर्वाचनले युवापुस्तालाई नेतृत्वको राजनीतिक परिर्वतन र देशको नेतृत्वका लागि स्थान प्रदान गर्छ भन्ने आम चर्चाको विषयका रूपमा लिइएको छ। राजनीतिमा नयाँ पुस्ताको भूमिका अझ बढ्ने आशाका साथ आमजनतामा नयाँ आशा पलाएको छ। यसो भन्दैमा पुराना राजनीतिक दलका नेताहरूको विगतको भूमिकालाई हामीले उपेक्षा पनि गर्न मिल्दैन।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय र भयरहित तुल्याउन कसको के कस्तो भूमिका रहन्छ?
निर्वाचन, स्वतन्त्र, निष्पक्ष हुनुपर्छ। निर्वाचन स्वतन्त्र मात्र हुँदैन, स्वच्छ पनि हुन आवश्यक छ। विश्वासिलो पनि हुनु पर्छ। निर्वाचन स्वच्छ, स्वतन्त्र बनाउनका लागि निर्वाचन आयोगको ठूलो भूमिका हुन्छ। स्वतन्त्र, स्वच्छ निर्वाचन गराउन सम्पूर्ण प्राविधिक र प्रशासनिक कार्यको जिम्मा निर्वाचन आयोगको छ। आयोगले सम्पूर्ण सामग्रीको व्यवस्थापन, राम्रोसँग गरियो भने स्वाभाविक, निर्वाचन स्वतन्त्र स्वच्छ हुन्छ। यसमा निर्वाचन आयोगको मात्रै नभएर मतदाताको पनि उत्तिकै भूमिका हुन्छ। मतदाताले स्वतन्त्र, स्वच्छ रूपमा काम गर्नुपर्छ। निर्वाचनमा बढीभन्दा बढी मतदाता सहभागी हुनुपर्दछ। यसमा राजनीतिक दलका शीर्ष नेताहरुदेखि उम्मेदवारहरूको पनि भूमिका रहन्छ। सुरक्षा निकायको पनि भूमिका महत्वपूर्ण रहेको हुन्छ।
निर्वाचनमा सम्पूर्ण कार्यका लागि आवश्यकपर्ने सामग्री, सुरक्षाको प्रबन्ध, मतपत्रको ढुवानी गर्नुपर्ने हुन्छ। निर्वाचन विश्वसनीय बनाउनका लागि पर्यवेक्षकले पनि कस्तो किसिमको अनुगमन गर्दछन् भन्ने हेरिन्छ। निर्वाचनमा प्रचारप्रसारमा सबैभन्दा महत्त्वपूर्ण भूमिकाका लागि प्रचारप्रसार सञ्चारमाध्यमको भूमिका हुन्छ। सञ्चारकर्मीले जनताका बीचमा मतदान गर्न मतदातालाई अभिप्रेरित गर्ने, मतदाता शिक्षा जगाउनेदेखि निर्वाचन परिणाम छिटोभन्दा छिटो जानकारी गराउने भूमिका हुन्छ। त्यसैले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत रुपमा सम्पन्न गराउन कुनै एक निकायले मात्र नभई सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहेको हुन्छ।
निर्वाचन प्रचारप्रसारमा के कस्ता कुरामा राजनैतिक दल र उम्मेदवारले ध्यान दिन आवश्यक छ?
फागुन २१ गते भइरहेको आसन्न निर्वाचन सबै ठाउँमा एकैपटक हुन गइरहेको छ। यसमा राजनीतिक दल, तिनका उम्मेदवारले मतदाताहरुलाई मतदान कसरी गर्ने, मतदाता शिक्षाका रूपमा नमुना मतपत्रका आधारमा सिकाउनुपर्ने हुन्छ। मतदान गर्ने प्रक्रियाका बारेमा निर्वाचन आयोगले आफ्नो संयन्त्रहरु वडासम्म खटाएकै छ। घरदैलो, सभा, जुलुस गर्दा आचारसंहिताको परिधिभित्र चुनावी घोषणापत्रका आधारमा गर्नुपर्ने हुन्छ। कसैको विरोध नगर्ने र उम्मेदवारका बीचमा समन्वय हुनुपर्दछ। शान्ति सुव्यवस्था कायम गर्न यस्ता कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ।
हरेक निर्वाचनमा औसत बदर मतको प्रतिशत उच्च रहने गरेको छ, यसलाई कम गर्न के गर्नुपर्ला?
निर्वाचनमा मत बदर हुनुमा विभिन्न कारण जिम्मेवार हुन्छन् । हामीकहाँ मतदाता साक्षरताको स्थिति कमजोर छ । यसले गर्दा पनि मत बदर हुन्छ । मतपत्रको आकार र यसको डिजाइनले पनि मतदाता अलमलिन सक्छन् । मतपत्रमा चिह्नका कोठा र निर्वाचन चिह्नका कारण पनि मत बदर हुन्छ । उस्तैउस्तै निर्वाचन चिह्न भएमा मतदाताले झुक्किएर दुवैतिर छाप लगाउन सक्छन् । स्वस्तिक छाप र त्यसमा प्रयोग हुने मसीको गुणस्तरले पनि मत बदर हुने जोखिम हुन्छ । यसमा मतदान गर्ने कोठाको प्रकाशको अवस्थाले फरक पारेको हुनसक्छ । वृद्ध र अशक्त मतदाताले मत दिँदा पनि बदर हुने सम्भावना धेरै हुन्छ । कतिपय निर्वाचनमा बहिष्कार गर्ने दलहरूले निर्वाचनमा सहभागी हुने तर मत बदर गराउने अभियान चलाउनाले पनि बदर मतको प्रतिशत उच्च हुन सक्छ ।
निर्वाचनका निर्वाध रुपमा सम्पन्न गर्नका लागि सरकार र निर्वाचन आयोगको कस्तो भूमिका हुनु पर्छ?
जुनसुकै देश जुनसुकै निर्वाचन होस आखिर निर्वाचन तर लोकतान्त्रिक निर्वाचनमा भूमिका भने सरकार र निर्वाचन आयोगको हुन्छ। कतिपय देशमा निर्वाचन आयोग हुँदैन, सरकारले नै निर्वाचन गर्छ तर हाम्रो सन्दर्भमा भन्ने हो भने स्वतन्त्र निकायका रुपमा निर्वाचन आयोग छ। यहाँ निर्वाचनको मिति घोषणा गर्ने अधिकार सरकारको पनि रहेको छ। निर्वाचनमा यी दुवै संस्थाको आवश्यकता छ। निर्वाचन सम्पूर्ण व्यवस्थापन र जिम्मेवारी आयोगको हुन्छ र त्यसको वित्तीय स्रोत जुटाइदिने र सुरक्षाको प्रत्याभूति तथा आवश्यक कर्मचारीको प्रबन्ध मिलाइदिने जिम्मेवारी सरकारको हुन्छ।
जेनजी आन्दोलनपछि गठन भएको यो विशेष अवस्थाको सरकार हो, यसलाई अन्तरिम सरकार पनि भनिन्छ । निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउन वर्तमान सरकारको भूमिका प्रशंसनीय छ। राजनीतिक दलहरु पनि निर्वाचन सम्पन्न गराउन अन्तिम तयारीमा रहेका छन्। निर्वाचन आयोगले आवश्यकपर्ने सम्पूर्ण मतपत्र, मतदान केन्द्र मतपेटीका मतदाता नामावली, मतदानका लागि जनशक्ति मतगणनाको व्यवस्थालाई अन्तिम चरणमा पुर्याएको छ।
निर्वाचन प्रचारप्रसार र मौन अवधिबारे अझ प्रष्ट पारिदिनुस् न?
निर्वाचनका विधि र प्रक्रियाहरू विभिन्न देशमा फरकफरक किसिमको हुन्छ। मौन अवधिका बारेमा पनि विभिन्न अभ्यासहरु छन्। हाम्रो सन्दर्भमा मतदान हुनु तीन दिनअघिदेखि खुलारूपमा प्रचारप्रसार गर्न पाइँदैन। यस अवधिमा सबै मतदाताले आफ्ना विचार र सोच निर्माण गर्न सक्दछन्। यो समय ज्यादै महत्त्वपूर्ण समय हो। यता यस अवधिमा निर्वाचन आयोगलाई मतदानको अन्तिम तयारी गर्न सकिन्छ।
अन्तमा मतदातालाई यहाँको केही सन्देश छ कि?
नेपालको इतिहासमा यो निर्वाचनको ऐतिहासिक महत्व रहेको छ। लोेकतन्त्रलाई सुदृढ बनाउन र सम्पूर्ण नेपालीको सुख, समृद्धिका लागि स्थायी सरकार बनाउनका लागि मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गर्न चाहन्छु। यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि यहाँहरुले शान्त भएर आफ्ना मताअधिकारको प्रयोग गर्नु ठूलो अधिकार हो। कसैको लोभलालच, डर धम्की र त्रासमा नपरेर स्वतन्त्र, स्वच्छ रुपमा मताधिकार प्रयोग गर्नुपर्छ। रासस




















