मन्थली । तत्कालीन नेकपा एकीकृत समाजवादी (नेकपा एस) रामेछापका उपसचिव गणेशबाबु खड्का नेकपा एमालेमा प्रवेश गरेका छन्।
एमालेले सञ्चालन गरेको ‘घर फर्क अभियान’ अन्तर्गत उनी पार्टीमा फर्किएको जनाएको छ। यसअघि पनि तीर्थ श्रेष्ठसहितका नेता एमालेमा प्रवेश गरिसकेका थिए। खड्कालाई एमाले केन्द्रीय नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार माधव ढुंगेलले मन्थलीस्थित पार्टी कार्यालयमा स्वागत गरेका हुन्।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्युठानका नगर सदस्य सूर्यबहादुर गैरे पनि एमालेमा प्रवेश गरेका छन्। एमाले प्युठान जिल्ला अध्यक्ष विजयविराज विष्टले गैरे पार्टीमा प्रवेश गरेको पुष्टि गरे।
गैरेलाई एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा उम्मेदवार सूर्य थापाले स्वागत गरेका थिए। प्युठानमा रास्वपा सभापति रवि लामिछानेको उपस्थितिपछि अर्को दिन गैरेले रास्वपा परित्याग गरी एमाले रोजेको जनाइएको छ।
रास्वपा परित्यागको कारणबारे उनले भने, “नेपाल र नेपाली आत्मस्वाभिमान तथा भावनासँग जोडिएका ऐतिहासिक सम्पदाहरू ध्वस्त बनाइएको घटनाले मलाई दुखित बनायो। यो देश बनाउने पार्टी होइन, खरानी बनाउने पार्टी हो भन्ने निष्कर्षमा पुगेपछि मैले पार्टी छोड्ने निर्णय गरेको हुँ।”




















