काठमाडौँ । रौतहटको सदरमुकाम गौरमा शनिबारदेखि जारी कर्फ्यु सर्वपक्षीय बैठकका निर्णयपछि पनि हटाइएको छैन। स्थानीय प्रशासनले अवस्था अझै संवेदनशील रहेको सुरक्षा मूल्यांकनका आधारमा कर्फ्यु यथावत् राखिएको जनाएको छ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार तत्काल कर्फ्यु हटाउने अवस्था छैन। उनले भने, “गौर नगरपालिका–६ को सबगढामा दुई समुदायबीच भएको झडपमा संलग्न दुवै पक्षका १५–२० जना स्थानीयलाई आज दिउँसो ३ बजे बोलाइएको छ। उनीहरूबीच सद्भाव कायम गर्ने र विवाद नगर्ने सहमति तथा प्रतिबद्धता कार्यान्वयन हुने देखिएपछि मात्र कर्फ्यु हटाउने विषयमा विचार गरिनेछ।”
प्रमुख जिल्ला अधिकारी भुसालको अध्यक्षतामा आइतबार बिहान जिल्ला प्रशासन कार्यालय रौतहटमा बसेको सर्वपक्षीय बैठकले सोमबार बिहान सबगढामा नागरिक समाजको अगुवाइमा सद्भाव र्याली निकाल्नेसहित पाँच निर्णय गरेको छ।
५ निर्णय
१. गौर नगरपालिका वडा नं. ६ को सबगढा गाउँमा मिति २०८२ फागुन ७ गते राति ९:४५ बजे सुरु भएको विवाद सामान्य रूपले नै समाधान भइसके तापनि पुनः मिति २०८२ फागुन ८ गतेदेखि उग्र रूप लिएको हुँदा स्थानीयवासी प्रतिनिधि तथा अगुवा बसेर छबुँदे सहमति भएको बेहोरा अवगत भयो। तथापि मिति २०८२ फागुन ९ गते बिहानैदेखि परिस्थिति जटिल भएको अवस्था सिर्जना भई जिल्लाभित्र हुनसक्ने जनधनको क्षति रोक्न जिल्ला सुरक्षा समितिको निर्णयानुसार मिति २०८२।११।०९ दिउँसो १:०० बजेदेखि सुरु भएको कर्फ्युको अवस्था यथावत् रहेको अवस्थामा जिल्लामा सौहार्दपूर्ण वातावरण कायम गर्न बोलाइएको यस सर्वपक्षीय बैठकबाट सो विवादको क्रममा भएका घटनाहरूप्रति खेद प्रकट गर्दै शान्तिपूर्ण वातावरण कायम गर्न सरोकारवाला सबै पक्षले सार्वजनिक अपिल जारी गर्ने निर्णय गरियो।
२. सबगढा गाउँमा भएको विवाद समाधान गर्न सहयोगी हुने दुवै पक्षका स्थानीय भद्रभलादमी व्यक्तिहरूको उपस्थित गराई जिल्ला सुरक्षा समितिले औपचारिक/अनौपचारिक छलफल वा बैठक गरी समस्या समाधानका लागि पहल गर्ने निर्णय गरियो।
३. अन्तर्राष्ट्रिय रूपमा घटेका घटनाहरूलाई यस जिल्लाभित्रको घटना भएको भनी विभिन्न व्यक्तिहरूले सामाजि सञ्जालहरूमा अनर्गल रूपमा प्रचारप्रसार गरी शान्तिपूर्ण अवस्थामा खलल पुग्ने अवस्था देखिएमा आवश्यक कारबाही गर्ने कार्यमा सुरक्षा निकायलाई सहयोग गर्ने निर्णय गरियो।
४. सबगढा गाउँलगायत फाटफुट रूपमा कतिपय अन्य स्थानहरूमा धार्मिक सामाजिक सद्भाव बिथोल्न खोज्ने व्यक्तिहरूको सुरक्षा निकायबाट निगरानी भई नै रहेको अवस्था छ। उक्त घटनामा पक्राउ परेका व्यक्तिहरूको सम्बन्धमा सुरक्षा निकायको अनुसन्धानबाट दोषी देखिएमा र अनुसन्धान हुँदै जाँदा दोषी अन्य व्यक्तिहरू समेतलाई कानुनी दायरामा ल्याई कारबाही गर्न प्रहरी प्रशासनलाई आग्रह गर्ने निर्णय गरियो।
५. रौतहट जिल्लाभर धार्मिक, सामाजिक-सांस्कृतिक सद्भाव कायम गर्न तथा सार्वजनिक शान्ति कायम गर्न र रौतहट जिल्लाबाट धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव र शान्तिको सन्देश दिने उद्देश्यले भोलि मिति २०८२।११।११ गते बिहान ७:३० बजे नागरिक समाजको अगुवाइमा सरोकारवाला सबैलाई सहभागी गराई सबगढामा सद्भाव र्याली गर्ने निर्णय गरियो।

























