काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यको अर्बौँ रुपैयाँ खर्च भइसकेकाले अब तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताएका छन्।
अध्यक्ष ओलीले चुनाव स्थगित गराउने प्रयास अझै भइरहेको दाबी गर्दै एमाले भने कुनै अलमल नगरी चुनाव जित्ने तयारीमा लागिसकेको बताए। निर्वाचनको तयारीमा राज्य र उम्मेदवारहरूले ठूलो धनराशि खर्च गरिसकेकोतर्फ उनले ध्यानाकर्षण गराए।
उनले भने, “हामी चुनाव होस् भन्ने पक्षमै छौँ। अहिले पनि चुनाव स्थगित गराउने प्रयास भइरहेका छन्। तर जे भए पनि हामी नअलमलिकन चुनावको तयारीमा लाग्छौँ। हाम्रो लक्ष्य जित नै हो।”
अध्यक्ष ओलीले विगत छ महिनासम्म आफूहरूले निर्वाचनको पक्षमा पहल गर्दा कसैले चासो नदिएको तर अन्तिम समयमा आएर चुनाव हुँदैन भन्नु गलत भएको उल्लेख गरे। उनका अनुसार, चुनाव नहुने हो भने अर्बौँ रुपैयाँ खर्च हुनुपर्ने थिएन र उम्मेदवारहरूको खर्च पनि जोगिन सक्थ्यो।
राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले आधारहीन गठबन्धनबाट बनेको पार्टी अत्यधिक उत्तेजित भएको टिप्पणी गरे। राष्ट्रिय स्वतन्त्र पार्टीलाई इंगित गर्दै ओलीले सानो भाँडोमा चर्को आगो बालेर उमालेको दूधजस्तै अवस्था सिर्जना भएको टिप्पणी गरे।
उनले भने, “जित्न सकिँदैन भन्ने अवस्था आएपछि अर्काको झण्डा जलाउने, निहुँ खोज्ने, वातावरण बिथोल्ने र अपमान गर्ने जस्ता गतिविधि सुरु गरिएको देखिन्छ।”




















