काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीको चुनावी घोषणापत्रको तयारी अन्तिम चरणमा पुगेको बताएका छन्।
एमालेका उम्मेदवारहरूसँगको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले घोषणापत्रमा समेटिने प्रमुख विषयहरूबारे जानकारी गराए। उनका अनुसार घोषणापत्र चाँडै सार्वजनिक गरिनेछ।
उनले भने, “हामी अहिले घोषणापत्र तयारीमै छौँ। चाँडै नै यो सार्वजनिक हुनेछ। नेकपा एमालेले राष्ट्रिय हित, स्वतन्त्रता, स्वाभिमान र राष्ट्रियताको विषयलाई प्राथमिकतामा राख्छ। घोषणापत्र यी विषयमा केन्द्रित हुनेछ। सामाजिक सद्भाव कायम गर्ने कुरामा पनि एमालेले जोड दिनेछ। साथै विकास निर्माणसँग सम्बन्धित आयोजनाहरूमा हामी विशेष ध्यान दिन चाहन्छौँ।”
पोखरेलले सुशासनसँग सम्बन्धित विषयहरू—भ्रष्टाचार नियन्त्रण, स्वास्थ्य, शिक्षा र रोजगारी—घोषणापत्रका मुख्य एजेन्डा रहने बताए।
उनले संविधान संशोधनका विषयहरू पनि घोषणापत्रमा समेटिने उल्लेख गर्दै भने, “यसपटकको घोषणापत्रमा हामी फरक ढंगले प्रस्तुत हुनेछौँ। कुन काम, कहिले र कसरी गर्ने भन्ने कुरा स्पष्ट रूपमा उल्लेख गरेर घोषणापत्र ल्याउनेछौँ।”




















