काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त बनाउने चेतावनी दिएका छन् । उनले आफ्नो समयसीमा (डेडलाइन) भित्र ‘हर्मोज जलसन्धि’नखोले इरानी पूर्वाधारहरूमाथि भीषण आक्रमण गर्ने कडा चेतावनी दिएका हुन्। ट्रम्पले तोकेको समयसीमा सोमबार अर्थात् आज सकिँदैछ ।
आइतबार सामाजिक सञ्जालमा एक आक्रामक र अपशब्दयुक्त पोस्ट गर्दै ट्रम्पले यदि जलसन्धि नखोलिए इरानका पुल र पावर प्लान्टहरू ध्वस्त पारिदिने धम्की दिएका हुन् । ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन्, ‘मंगलबार इरानका लागि पावर प्लान्ट र पुलहरू ध्वस्त पार्ने दिन हुनेछ । हर्मोज जलसन्धि तुरुन्त खोल, नत्र तिमीहरू नर्कमा बस्नुपर्नेछ—हेर्दै जाऊ ।’
गत मार्च २६ मा ट्रम्पले इरानलाई यो विश्वकै प्रमुख उर्जा आपूर्ति मार्ग खोल्न १० दिनको अल्टिमेटम दिएका थिए । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि उक्त मार्गमा यातायात ठप्प पारिएको छ ।
इरानी अधिकारीहरूले ट्रम्पको यो धम्कीको कडा भर्त्सना गर्दै बदला लिने चेतावनी दिएका छन् । संयुक्त राष्ट्र संघका लागि इरानी नियोगले भनेको छ, ‘अमेरिकी राष्ट्रपतिले पुनः नागरिक जीवनका लागि आवश्यक पूर्वाधार नष्ट गर्ने धम्की दिएका छन् । अन्तर्राष्ट्रिय समुदायले यस्ता युद्ध अपराध रोक्न तुरुन्त कदम चाल्नुपर्छ ।’
यसैबीच, इरानी राष्ट्रपतिका सञ्चार उपप्रमुख सैयद मेहदी ताबातबाईले युद्धबाट भएको क्षतिपूर्ति नतिरेसम्म जलसन्धि नखोलिने स्पष्ट पारेका छन् । उनले ट्रम्पको धम्कीलाई ‘हतासा र क्रोधको अभिव्यक्ति’ भएको टिप्पणी गरेका छन् ।
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले पनि गत हप्ता इरानलाई ‘ढुङ्गे युग’मा पुर्याइदिने चेतावनी दिएका थिए । अमेरिकी र इजरायली आक्रमणबाट यसअघि नै इरानका विद्यालय, अस्पताल र विश्वविद्यालयहरूमा क्षति पुगिसकेको छ ।
पूर्वाधार लक्षित आक्रमणले सर्वसाधारणमा पार्ने प्रभावबारे सोधिएको प्रश्नमा ट्रम्पले वाल स्ट्रिट जर्नलसँग कुरा गर्दै आफूलाई त्यसको कुनै चिन्ता नरहेको बताएका छन् । (एजेन्सी)




















