काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन्। बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले उनलाई चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।
बैंकिङ क्षेत्रमा करिब २५ वर्षको अनुभव रहेका शर्मा अनुभवी तथा दक्ष बैंकरका रूपमा परिचित छन्। उनी यसअघि सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए भने त्यसअघि माछापुच्छ्रे बैंकको पनि सीईओ भइसकेका छन्।
प्रभु बैंकका निवर्तमान सीईओ अशोक शेरचनले आइतबार राजीनामा दिएपछि सोही निर्णयलाई स्वीकृत गर्दै सञ्चालक समितिले शर्मालाई नयाँ सीईओ नियुक्त गरेको हो।
शर्मासँग ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंकलगायत वित्तीय संस्थामा काम गरेको अनुभव छ। उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन्।
सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट बैंकिङ करियर सुरु गरेका शर्माले सात वर्षसम्म त्यही बैंकमा सेवा गरेपछि सन् २००५ मा नेदरल्याण्डको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबीए हासिल गरेका हुन्। उनी अर्थशास्त्र तथा एमबीए (फाइनान्स) विषयमा स्वर्ण पदक विजेता समेत हुन्।



















