काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकासँग स्पष्टीकरण माग गरेको छ।
निर्वाचन आचारसंहिता २०८२ लागू भइसकेपछि महानगरपालिकाले ७० वर्ष र सोभन्दा माथिका नागरिकलाई घरघरमै पुगेर आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सुरु गरेको विषयमा आयोगले महानगरपालिकालाई पत्राचार गरेको हो।
आयोगका अनुसार यस सम्बन्धमा कार्यबाहक नगरप्रमुखले दिएको अभिव्यक्तिको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएपछि सो कार्यक्रम आचारसंहिता विपरीत हो वा होइन भन्ने विषयमा स्पष्टता माग गरिएको हो।
निर्वाचन आचारसंहिता २०८२ को दफा ५ को खण्ड (क) को उपखण्ड (ग) मा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत नभएका नयाँ नीति, योजना वा कार्यक्रम घोषणा, स्वीकृत वा सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ। तर सरुवा रोगको महामारी वा नियन्त्रण बाहिरको विशेष अवस्था सिर्जना भएमा आयोगको स्वीकृति लिएर मात्र त्यस्ता कार्यक्रम सञ्चालन गर्न सकिने उल्लेख छ।
यसै सन्दर्भमा आयोगले महानगरपालिकालाई कार्यबाहक नगरप्रमुखले सुरु गरेको भनिएको कार्यक्रम वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएको हो वा होइन भन्नेबारे स्पष्ट जवाफसहित सम्बन्धित कागजात पेश गर्न निर्देशन दिएको छ।
यदि उक्त कार्यक्रम वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएको भए सोसम्बन्धी प्रमाणित कागजात यो पत्र प्राप्त भएको दुई दिनभित्र आयोगमा पेश गर्न आयोगले अनुरोध गरेको छ। आयोगले सोमबार महानगरपालिकालाई पठाएको पत्रमा उक्त कुरा उल्लेख गरिएको छ।




















