काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौलाले जुनसुकै दलको नेतृत्वमा सरकार बनेपनि संघीयता भावना अनुसार संघीय सरकारले काम नसकेको आरोप लगाएका छन् ।
मंगलबार बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको वैठकमा सिटौलाले प्रदेश र स्थानीय तहका सरकार केन्द्रको मातहतको जस्तो देखिएको बताएका छन् ।
संघीयताको भावना बोकेको प्रदेशहरूले पनि आफ्नो अधिकार प्रयोग गर्नै नसकेको भन्दै सिटौलाले कतिपय ठाँउमा प्रदेश सरकारभन्दा बढी स्थानीय सरकारले राम्रो काम गरेको देखिएको बताएका छन् ।
संघीयताको कार्यान्वयन सम्बन्धमा प्रतिनिधिसभा, राष्ट्रिय सभा दुवैले मिलेर एउटा साझा दृष्टिकोण बनाउनुपर्ने बताउँदै उनले संविधानले अनुसूचीमा रहेको अधिकारको बाँडफाँटको सूचीमा समेत समस्या रहेको बताएका छन् ।
बैठकमा अन्तरतह विधायिकी अन्तरसम्बन्ध सम्बन्धी भ्रमणको समीक्षा र मस्यौदा प्रतिवेदनमाथि छलफल भएको छ ।




















