विराटनगर । नेकपा एमालेका सचिव भानुभक्त ढकालले आगामी निर्वाचनलाई पार्टीको विचार, नीति र दृष्टिकोण जनतामाझ पुर्याउने महत्वपूर्ण अवसरका रूपमा लिएको बताएका छन्।
प्रेस चौतारी नेपालले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ढकालले निर्वाचन अभियानले पार्टीका कार्यकर्तालाई थप उत्साहित बनाउनुका साथै संगठनलाई नयाँ ढंगले सुदृढ बनाउन सहयोग पुर्याएको बताए।
पार्टीको महाधिवेशनपछि नेतृत्व परिवर्तन नभएको भन्ने आलोचनाप्रति प्रतिक्रिया दिँदै उनले एमालेले एक वर्षअघि नै लोकतान्त्रिक अभ्यासमार्फत नीति र नेतृत्व व्यवस्थापन गरिसकेको दाबी गरे।
उनले भने, “कार्यकर्ताको सार्वभौमसत्ता स्वीकार गर्दै उन्नत लोकतान्त्रिक अभ्यासबाट महाधिवेशन सम्पन्न गरिएको हो। विगतमा जस्तो चुनावका बेला टिकट नपाएर पार्टी छोड्ने वा अर्को चिह्न लिएर हिँड्ने प्रवृत्ति अहिले एमालेमा छैन, पार्टी पूर्ण रूपमा एकताबद्ध छ।”
भदौ २३ र २४ गतेका घटनाक्रम तथा सामाजिक सञ्जालमा उठेका प्रश्नबारे टिप्पणी गर्दै सचिव ढकालले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा युवाहरूले सुरु गरेको ‘जेनजी’ आन्दोलनलाई घुसपैठ गरेर हाइज्याक गरिएको आरोप लगाए।
संविधान नै खारेज गर्नुपर्ने जस्ता अराजक माग उठाउँदै राष्ट्रियताको पक्षमा उभिएको एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कमजोर बनाउने सुनियोजित षड्यन्त्र भइरहेको उनको दाबी थियो।
“अध्यक्ष ओलीलाई बदनाम गराउनु भनेको राष्ट्रियताको आन्दोलनलाई कमजोर बनाउनु हो भन्ने कुरा जनताले स्पष्ट रूपमा बुझिसकेका छन्,” उनले भने।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा तेह्रथुम जिल्लाबाट उम्मेदवार रहेका ढकालले आफ्नो जन्मभूमिप्रति समर्पित भएर विकास र समृद्धिको नेतृत्व गर्ने संकल्प व्यक्त गरे।
विगतमा समानुपातिक सांसदका रूपमा जिल्लाको सेवा गरिसकेको स्मरण गराउँदै उनले यसपटक प्रत्यक्ष निर्वाचित भएर अधुरा विकास योजनाहरू पूरा गर्ने र नयाँ सम्भावनाहरू उजागर गर्ने प्रतिबद्धता जनाए।
तेह्रथुमको विकासले अपेक्षित गति लिन नसकेको स्वीकार गर्दै उनले जिल्लाको समग्र कायापलट गर्न र समृद्धिको सपना साकार पार्न आफू दृढ संकल्पित रहेको पनि बताए।




















