काठमाडौं । नेकपा एमालेले आगामी फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ।
पार्टीका महासचिव शंकर पोखरेलले शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा घोषणापत्र सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्।
महासचिव पोखरेलका अनुसार निर्वाचन आयोगले उम्मेदवारी दर्तापछि मात्रै प्रचारप्रसारको कार्यतालिका तोक्ने भएकाले हाल आचारसंहिताका कारण उम्मेदवारहरू सक्रिय रूपमा प्रचारमा जान नसकेको अवस्था छ।
उनले भने, “पार्टीले फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्नेछ। आयोगले तोकेको कार्यतालिकाअनुसार प्रचारप्रसारको समय सुरु भएपछि उम्मेदवारहरू घोषणापत्रसहित मतदाताको घरदैलोमा जानुहुनेछ।”
यसैबीच, नेकपा एमालेले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा पार्टी सुरक्षित अवस्थामा रहेको निष्कर्ष निकालेको छ। सोही पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सामाजिक सञ्जालमा फैलिने हल्लाले केही प्रभाव पारे पनि वास्तविक मतदाताबीच पार्टीको अवस्था मजबुत रहेको दाबी गरे।
“सामाजिक सञ्जालको हल्लाखल्लाले केही असर गरेको हुन सक्छ, तर मतदाताको तहमा हामी झापा–५ मा सुरक्षित अवस्थामा छौं। त्यहाँ कुनै जोखिम छैन भन्ने पार्टीको विश्लेषण छ,” उनले भने।
झापा–५ मा नेकपा एमालेबाट पार्टी अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेका छन्। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह पनि चुनावी प्रतिस्पर्धामा छन्।




















