काठमाडौं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट निर्वाचित हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ। महाधिवेशन अन्तर्गतको बन्दसत्रले केन्द्रीय कमिटीमा महिला, युवा, आदिवासी-जनजाति, मधेसी, दलित, थारू, मुस्लिम, श्रमिक, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रबाट समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने गरी संरचना तय गरेको महाधिवेशन प्रचार समितिका संयोजक पद्मा अर्यालले जानकारी दिइन् ।
प्रस्तावित संरचनाअनुसार केन्द्रीय कमिटीमा १९ जना पदाधिकारी रहनेछन्। जसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहने व्यवस्था गरिएको छ।
प्रदेशगत प्रतिनिधित्वअन्तर्गत उपत्यकासहित सबै ८ प्रदेशबाट ७२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् भने प्रत्येक प्रदेशबाट ९ जनाको प्रतिनिधित्व रहने अर्यालले बताइन्। त्यसैगरी, खुला कोटामा ७१ जना, ५२ जना महिला र २ जना युवा समावेश गरिएको उनले बताइन्।
बन्दसत्रले विधान संशोधन प्रस्तावलाई पारित गरेको उनले जानकारी दिइन्। बन्दसत्रले माइन्युट कमिटी, प्रस्ताव कमिटी पनि गठन गरेको छ ।



















