काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको मुख्य लक्ष्य तोकिएको समयमै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु रहेको बताएकी छिन् । सोमबार राष्ट्रिय सभाको बैठकलाई पहिलोपटक सम्बोधन गर्दै उनले निर्वाचनको तयारी र सुशासनका क्षेत्रमा सरकारले गरिरहेका कामबारे जानकारी दिएकी हुन ।
प्रधानमन्त्री कार्कीले आफू कुनै दीर्घकालीन शासकीय आकाङ्क्षाका साथ नभई विषम परिस्थितिमा जिम्मेवारी सम्हाल्न आएको स्पष्ट पार्दै “प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरी नयाँ बन्ने सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न म आतुर छु ।’
सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले सरकार छोडेर निर्वाचनमा होमिएका पूर्वमन्त्रीहरूको बचाउ गरिन । सांसदहरूले मन्त्रीहरूले बीचैमा पद छाडेको भनी उठाएको प्रश्नको जवाफ दिँदै उनले भनिन्, ‘मैले नै उहाँहरूलाई हात जोडेर जति दिन सक्नुहुन्छ बसिदिनुस् भनेर ल्याएको हुँ। सरकारमा बसीबसी चुनाव लडेको भए बेइमानी हुन्थ्यो, तर उहाँहरूले पद त्यागेर जानुभएको हो। यसमा उहाँहरूलाई होइन, दोष दिने भए मलाई दिनुस्।’
उनले तत्कालीन समयमा जेनजीको ठूलो दबाबका कारण युवा पुस्तालाई मन्त्रिपरिषद्मा सहभागी गराउनुपर्ने अवस्था आएको खुलासा समेत गरिन् ।
पूर्वमन्त्री महावीर पुनको प्रसङ्ग जोड्दै प्रधानमन्त्रीले पुन केही महत्त्वपूर्ण कानुन बनाउने लक्ष्यका साथ सरकारमा आएको तर विद्यमान परिस्थितिमा ती कानुन निर्माण गर्न नसक्दा उनी रिसाएर हिँडेको बताइन् । ‘पुन त रिसाएर हिँड्नुभएको हो। केही राम्रा कानुन बनाउन खोजिएको थियो, तर अहिलेको अवस्थामा हामीले सहयोग गर्न सकेनौँ,’ प्रधानमन्त्रीले स्वीकार गरिन् । मन्त्री पदबाट बाहिरिएपछि पुनसँग कुनै सम्पर्क र संवाद नभएको पनि उनले जानकारी दिएकी छिन् ।
सदाचार नीतिमा छलफल प्रधानमन्त्री कार्कीले ‘विकास, आर्थिक मामिला तथा सुशासन’ समितिकी सभापति कमला पन्तद्वारा प्रस्तुत ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथिको छलफलमा उठेका जिज्ञासाहरूको समेत सम्बोधन गरेकी छिन् । सो क्रममा उनले राष्ट्रिय सभामा भर्खरै निर्वाचित सांसदहरूलाई बधाई समेत ज्ञापन गरिन् ।




















