काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कर्तव्यपालनका क्रममा प्रहरीले गरेका व्यावसायिक निर्णयहरूको जिम्मेवारी राज्यले लिने स्पष्ट पार्दै सही निर्णय गर्दा हुने आलोचनाबाट नडराउन आग्रह गरेकी छन् ।
नेपाल प्रहरीका निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकारले निर्वाचन शान्तिपूर्ण बनाउने लक्ष्य लिएको बताइन् । ‘निर्वाचनमा एक थोपा रगत पनि नबगोस् र एक जनासमेत घाइते नहोस् भन्ने हाम्रो चाहना हो,’ उनले भनिन्, ‘तर कर्तव्य निर्वाहका क्रममा हुने घटनाको जिम्मेवारी राज्यले लिनुपर्छ।’
प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको आन्दोलनपछि आएको कठिन समय नेपाल प्रहरीका लागि चुनौतीपूर्ण भए पनि प्रहरी संगठन अझ संगठित र विश्वसनीय संस्थाका रूपमा स्थापित हुन अग्रसर रहेको बताइन् ।
आसन्न निर्वाचन लोकतन्त्रका लागि उदाहरणीय बन्नुपर्ने उल्लेख गर्दै उनले भनिन्, ‘फागुन २१ गते हुने चुनाव लोकतन्त्रको उदाहरणीय मानक बन्नुपर्छ। प्रहरीको भूमिका स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउनेतर्फ केन्द्रित हुनुपर्छ।’




















