काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले फागुन २१ गते हुने निर्वाचनलाई सामान्य रूपमा लिन नहुने बताएका छन्। उनले यस निर्वाचनले देशको भविष्यबारे निर्णायक फैसला गर्ने उल्लेख गरे।
आफ्नो निर्वाचन क्षेत्र सर्लाही–३ मा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले यो चुनाव देशलाई स्वाधीन र लोकतान्त्रिक मार्गमा अघि बढाउने कि विदेशी हस्तक्षेप बढाउने दिशातर्फ धकेल्ने भन्ने विषयमा जनताको निर्णय हुने बताए।
उनले भने, ‘संविधान र लोकतन्त्रको रक्षा गर्ने कि प्रतिगमनलाई स्थान दिने, सुशासन कायम गर्ने कि भ्रष्टाचारलाई निरन्तरता दिने, विकास र समृद्धितर्फ लैजाने कि बेरोजगारी र अभावमै राख्ने भन्ने फैसला यही निर्वाचनले गर्नेछ।’
श्रेष्ठले भ्रमबाट मुक्त भएर राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, संविधान, सुशासन, विकास र समृद्धिको पक्षमा उभिने शक्तिलाई जिताउनुपर्ने बताए। मजदुर, किसान, दलित, जनजाति, महिला, मधेसी तथा सीमान्तकृत समुदायको हकहितको पक्षमा आफ्नो पार्टी रहेको उनको दाबी छ।
उनले राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षा गर्दै गरिब, किसान, मजदुर र सुकुम्वासीको पक्षमा काम गर्ने शक्ति आवश्यक रहेको उल्लेख गर्दै मतदातालाई सचेत निर्णय गर्न आग्रह गरे।




















