काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौं–तराई/मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङको ब्रेक थ्रु भएको छ। मकवानपुरको भीमफेदी र बकैया गाउँपालिकामा निर्माणाधीन सुरुङको बुधबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा ब्रेक थ्रु गरिएको हो।
महादेवटार सुरुङ द्रुतमार्गअन्तर्गत निर्माण भइरहेका जोडी सुरुङ (ट्विन ट्युब) मध्ये सबैभन्दा लामो सुरुङ हो। निजगढबाट काठमाडौं आउने दिशाको सुरुङ ३ हजार २२२ मिटर लामो रहेको छ।
ब्रेक थ्रु कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री, प्रधानसेनापति, रक्षा सचिवलगायत द्रुतमार्ग निर्माणमा संलग्न सैनिक तथा गैरसैनिक अधिकारीहरूको उपस्थिति थियो।
द्रुतमार्गअन्तर्गत सात स्थानमा १४ वटा सुरुङ निर्माण भइरहेको छ। हालसम्म धेद्रे, लेनडाँडा र महादेवटार गरी तीन स्थानका ६ वटा सुरुङ खन्ने काम सम्पन्न भएको छ। बाँकी चार स्थानका आठवटा सुरुङ निर्माणाधीन अवस्थामा रहेका छन्।




















