काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ६०५ ग्राम सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बलले बुधबार बिहान दुबईबाट हिमालयन एयरलाइन्सको उडान नम्बर H9 353 मार्फत काठमाडौं आएका चिनियाँ नागरिक बिनबिन लिलाई पक्राउ गरेको हो।
विमानस्थलको भन्सार क्षेत्रमा रहेको वाक थ्रु गेटमा जाँच गर्ने क्रममा उनले हातमा बोकेको ज्याकेटको खल्तीभित्र लुकाएर ल्याएको सुन फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको छ।
यसअघि पनि बुधबार मध्यराति विमानस्थलबाट १ किलो ८०३.७७ ग्राम सुनसहित चिनियाँ नागरिक जियानह्वा वाङ पक्राउ परेका थिए। उनी हङकङबाट नेपाल वायु सेवा निगमको उडान नम्बर RA410 मार्फत काठमाडौं आएका थिए।
एकै दिन विमानस्थलबाट दुई चिनियाँ नागरिक पक्राउ पर्दा बरामद सुनको कुल तौल ३ किलो ४०८.७७ ग्राम पुगेको छ।




















