काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य पुनःस्थापना गर्न दुबो रोप्ने काम सुरु गरेको छ।
महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत, अस्थायी संरचना निर्माण र ठूलो संख्यामा मानिसको चहलपहलका कारण क्षति पुगेको दुबो पुनःरोपण तथा संरक्षणका लागि कांग्रेसका नेता तथा कार्यकर्ता आफैँ खटिएका हुन्।
कार्यक्रमअघि सार्वजनिक स्थल प्रयोगपछि पुरानै अवस्थामा फर्काउने प्रतिबद्धता जनाएको कांग्रेसले सोहीअनुसार क्षतिग्रस्त क्षेत्रमा नयाँ दुबो रोप्ने, माटो मिलाउने र हरियाली पुनःस्थापना गर्ने काम थालेको हो।
आइतबार बिहान कांग्रेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा स्थानीय नेता–कार्यकर्ता खुलामञ्च पुगेर दुबो रोप्ने काममा सहभागी भएका थिए। त्यसका लागि चितवनबाट दुबो ल्याइएको पार्टीले जनाएको छ।
कांग्रेसका अनुसार पछिल्लो एक महिनादेखि खुलामञ्चमा नियमित सिँचाइ, मलखाद तथा मर्मतसम्भारको कामसमेत भइरहेको छ।
नेपाली कांग्रेस काठमाडौँ महानगर समितिका सभापति सुसन वैद्यले महाधिवेशनका क्रममा भएको क्षतिलाई पार्टीले आफ्नो दायित्वका रूपमा लिएको बताए। खुलामञ्च जुन अवस्थामा प्रयोग गरिएको थियो, त्यही अवस्थामा फर्काएर हस्तान्तरण गर्ने प्रतिबद्धताअनुसार काम भइरहेको उनको भनाइ छ।

उनले दुई दिनको भीषण वर्षा र हजारौँ मानिसको आवतजावतका कारण अनुमान गरेभन्दा बढी क्षति पुगेको उल्लेख गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण सबैको साझा जिम्मेवारी भएको बताए।
खुलामञ्च कुनै एउटा राजनीतिक दल, महानगरपालिका वा सरकारको मात्र नभई समग्र नेपालीको साझा सम्पत्ति भएको उल्लेख गर्दै वैद्यले सार्वजनिक सम्पत्तिको संरक्षण राजनीतिक दलको नैतिक जिम्मेवारीसमेत भएको बताए।
कांग्रेसकी सहमहामन्त्री प्रतिमा गौतमले टुँडिखेलको ऐतिहासिक पहिचान, प्राकृतिक सौन्दर्य र महत्त्व जोगाउनु पार्टीको साझा दायित्व भएको बताइन्।
महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावतबाट क्षति पुगेको देखेपछि त्यसको पुनःस्थापनामा पार्टी आफैँ सक्रिय भएको उनको भनाइ छ।
उनले काठमाडौँको मुटुमा रहेको टुँडिखेल ऐतिहासिक धरोहर भएकाले यसको अस्तित्व र सौन्दर्य संरक्षण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताइन्।





















