काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
आइतबार बिहान करिब १० बजेदेखि पहिरो खस्दा राजमार्गको दुवैतर्फको यातायात पूर्ण रूपमा ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ।
थापाले थप पहिरो नखसेमा छिट्टै सडक दुवैतर्फ सञ्चालनमा ल्याउन सकिने बताएका छन्।
पहिरोका कारण दुवैतर्फ सवारीसाधन रोकिएका छन्। चाडपर्वको समयमा मुख्य राजमार्ग नै अवरुद्ध भएपछि गन्तव्यतर्फ हिँडेका यात्रुहरू समस्यामा परेका छन्।




















