काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएका दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।
बिहीबार पेस गरिएको रिट शुक्रबार दर्ता भएको कार्कीका वारेस आभाष रेग्मीले जानकारी दिए। उक्त रिटमाथि सुनुवाइका लागि कात्तिक ३० गते पेसी तोकिएको छ।
सरकारले बुधबार कार्कीलाई आईजीपीबाट हटाएर मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो। आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबी गर्दै कार्कीले पुनर्बहालीको मागसहित सर्वोच्चमा रिट दिएका हुन्।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय र नवनियुक्त आईजीपी मनोज केसीलाई विपक्षी बनाइएको छ।
कार्कीले आफूलाई अर्को पदमा नियुक्त गरेको बहानामा आईजीपीबाट हटाउने निर्णय वस्तुनिष्ठ आधारविहीन र बदनियतपूर्ण रहेको दाबी गरेका छन्। उनले सरकारको निर्णय बदर गरी आफूलाई पुनः प्रहरी महानिरीक्षकको जिम्मेवारीमा कायम गर्न माग गरेका छन्।
कार्की २०८२ कात्तिक २७ गते आईजीपी नियुक्त भएका थिए। एक वर्ष कार्यकाल पूरा नहुँदै उनी पदबाट हटाइएका हुन्।




















