काठमाडौं । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले नेपालका विभिन्न स्थानमा वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम बढ्ने पूर्वानुमान गरिएको छ। प्रारम्भिक अनुमानअनुसार बिहीवार बेलुकादेखि शनिवारसम्म यसको प्रभाव नेपालमा देखिन सक्नेछ।
नेपाल मौसम विज्ञान विभागले चक्रवातको प्रभावलाई लिएर आत्तिनुपर्ने अवस्था नरहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागकी प्रवक्ता एवं वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार चक्रवातको अवशेषले जलवाष्पयुक्त हावा नेपालतर्फ ल्याउने र माथिल्लो वायुमण्डलमा रहेको मौसमी प्रणालीसँग अन्तरक्रिया गर्ने भएकाले वर्षा र हिमपातको सम्भावना देखिएको हो।
उनका अनुसार पछिल्लो पूर्वानुमानले देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र केही क्षेत्रमा भारी वर्षासमेत हुन सक्ने संकेत गरेको छ। यद्यपि, प्रणाली नेपाल नजिक आइपुग्दा कमजोर भए वर्षाको प्रभाव कम हुन सक्ने र शक्तिशाली रहे प्रभाव बढ्न सक्ने उनले बताइन्।
उच्च हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम
चक्रवातको प्रभावले उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपातसँगै हिमआँधी र हिमपहिरोको जोखिमसमेत निम्तिन सक्ने मौसमविद् पोखरेलले बताइन्।
विशेषगरी हिमाली क्षेत्रमा पर्यटकीय गतिविधिमा संलग्न व्यक्तिहरू बढी जोखिममा पर्न सक्ने भएकाले सुरक्षित स्थानमा रहन र सम्भव भएसम्म उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न उनले सुझाव दिएकी छन्।
त्यसैगरी, पहिरोको जोखिम भएका क्षेत्र तथा सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउनुपर्ने उनको भनाइ छ। यात्रामा निस्कनुअघि मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न विभागले आग्रह गरेको छ।
मौसम प्रणालीको वास्तविक प्रभाव यसको शक्ति र नेपालसम्म आइपुग्दाको अवस्थाले निर्धारण गर्ने भएकाले पछिल्लो मौसम पूर्वानुमान तथा आधिकारिक सूचनामा ध्यान दिन आवश्यक छ।




















