चितवन । चितवनको नारायणगढस्थित पशुपति मन्दिर नजिकै नारायणी नदीमा बगेर आमा र उनका ६ वर्षीय छोरा बेपत्ता भएका छन्। उनीहरूसँगै रहेकी ११ वर्षीया छोरीको भने प्रहरीले सकुशल उद्धार गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबार साँझ नदी किनारमा खुट्टा धुने क्रममा उनीहरूलाई नदीले बगाएको हो। इभिनिङ वाकका लागि छोराछोरीसँगै नदी किनारमा पुगेकी महिलालाई छोरासहित नदीले बगाएको प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए।
बेपत्ता हुनेमा खैरहनी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१२ मुनालचोकस्थित मामाघरमा बस्दै आएकी ३२ वर्षीया सिर्जना शर्मा र उनका ६ वर्षीय छोरा प्रसिद्ध रहेका छन्।
नदीमा डुबेकी सिर्जनाकी ११ वर्षीया छोरी प्रसिद्धि पौडेलको भने प्रहरीले उद्धार गरेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
बेपत्ता आमा–छोराको खोजीका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तथा उद्धार टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।




















