काठमाडौँ । बडादसैँका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले सूचना जारी गर्दै फूलपातीदेखि पूर्णिमासम्म जिल्लाभित्र टिपर सञ्चालन नगर्न/नगराउन अनुरोध गरेको हो।
जिल्ला सुरक्षा समितिको असोज २७ गते बसेको बैठकको निर्णयअनुसार टिपर सञ्चालनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिए।
दसैँका बेला बीपी राजमार्ग, अरनिको राजमार्गलगायत जिल्लाका प्रमुख सडकमा सवारीसाधनको चाप बढ्ने भएकाले सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ। यसबाट यात्रुवाहक सवारीसाधनको आवागमन सहज र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।
प्रशासनले तोकिएको अवधिभर टिपर सञ्चालन नगर्न/नगराउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ।




















