काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरीको वास्तविक शक्ति कानुनले दिएको अधिकारमा मात्र नभई नागरिकले गर्ने विश्वासमा समेत निहित रहेको बताएका छन् । उनले प्रहरीलाई प्रविधिमैत्री, पारदर्शी, व्यावसायिक र नागरिकप्रति उत्तरदायी सङ्गठनका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
सोमबार प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक कार्कीले बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न प्रहरीको कार्यशैलीमा सुधार आवश्यक रहेको बताए ।
साइबर तथा डिजिटल अपराध, अन्तरदेशीय अपराध र विपद् व्यवस्थापनजस्ता चुनौती सामना गर्न सूचना प्रविधि, डिजिटल प्रणाली र कृत्रिम बुद्धिमत्ता (एआई) को विवेकपूर्ण प्रयोग गर्नुपर्ने उनको भनाइ थियो ।
‘नेपाल प्रहरीलाई सक्षम, सुदृढ, पारदर्शी, प्रविधिमैत्री तथा नागरिकप्रति उत्तरदायी सङ्गठनका रूपमा विकास गर्न हामी निरन्तर प्रयासरत छौँ,’ उनले भने, ‘मानवअधिकार, कानुनी प्रक्रिया र व्यावसायिक विवेकलाई केन्द्रमा राखेर सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउनु हाम्रो प्राथमिकता हो ।’
महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीहरू व्यक्तिगत आग्रह, बाह्य प्रभाव र अनुचित दबाबबाट मुक्त रहेर कानुन कार्यान्वयनमा खटिनुपर्ने बताए । कानुनको पालना गराउनु मात्र पर्याप्त नहुने भन्दै उनले त्यसको कार्यान्वयन प्रक्रिया पनि निष्पक्ष, पारदर्शी, सम्मानजनक र जवाफदेही हुनुपर्नेमा जोड दिए ।
‘व्यक्तिगत धारणा, बाह्य प्रभाव र अनुचित दबाबबाट मुक्त भई कानुनको निष्पक्ष कार्यान्वयन गर्नु प्रत्येक प्रहरी कर्मचारीको दायित्व हो,’ उनले भने ।
नागरिकले प्रहरीको निर्णयसँग असहमति जनाए पनि प्रहरीको व्यवहार निष्पक्ष रहेको अनुभूति गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।
कार्कीले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य संवेदनशील समूहसँग सम्बन्धित घटनामा विशेष सावधानी अपनाउन प्रहरी कर्मचारीलाई निर्देशन दिए । यस्ता घटनामा गोपनीयता कायम गर्दै पीडितकेन्द्रित दृष्टिकोणलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।
‘स्मरण रहोस्, प्रहरीको शक्ति कानुनले प्रदान गरेको अधिकारमा मात्र होइन, नागरिकले गर्ने विश्वासमा पनि निहित हुन्छ,’ उनले भने ।
महानिरीक्षक कार्कीले प्रहरी सेवामा नागरिकको विश्वास कायम राख्न निष्पक्षता, व्यावसायिकता र जवाफदेहितालाई व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।




















