काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित ६ जनाको घरमा छापा मारेको छ।
विभागको टोलीले जबरासँगै दूरसञ्चार व्यवसायी दीपक तिमल्सिना, उच्च अदालतका पूर्वन्यायाधीश नारायण दाहाल र नवराज थपलियाको घरमा खानतलासी गरिरहेको स्रोतले जनाएको छ।
त्यस्तै, जबराका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा पनि विभागको टोली पुगेको बताइएको छ। जबराका एक कामदारको घरमा समेत टोलीले प्रहरीको सहयोगमा खानतलासी गरिरहेको स्रोतको भनाइ छ।
यद्यपि, विभागले छापाको आधिकारिक कारण तथा खानतलासीबाट प्राप्त विवरण सार्वजनिक गरिसकेको छैन।
यसअघि जबरालाई असोज १० गते राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगन्जस्थित निवासबाट पक्राउ गरेको थियो। उनलाई करिब १२ घण्टा प्रहरी हिरासतमा राखेर असोज ११ गते छाडिएको थियो। प्रहरीले भने सुरक्षाका लागि कार्यालय लगिएको जनाएको थियो।
जबराविरुद्ध परेको उजुरीको विस्तृत विवरण भने सार्वजनिक भएको छैन।
जबराले २०७५ पुस १८ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। उनीविरुद्ध २०७८ फागुन १ गते संसदमा महाभियोग प्रस्ताव दर्ता भएको थियो। महाभियोग प्रस्तावपछि निलम्बित जबरा सर्वोच्च अदालत फर्किन पाएनन् र उनको कार्यकाल समाप्त भएको थियो।




















